२०८१ आश्विन ५ , शनिवार

पहिरो पीडितलाई गाउँपालिकाको आर्थिक सहयोग

सुनाखरी न्युज/ इलाम ।

जिल्लाको रोङ गाउँपालिकाका पहिरो पीडितलाई गाउँपालिकाले सहयोग गरेको छ । गाउँपालिकाले वडा नं ३ र ४ का पहिरो पीडितलाई आर्थिक सहयोग गरेको हो ।

 

गाउँपालिकाले १३ घर परिवारलाई प्रतिघर रु एक लाखका दरले आर्थिक सहयोग गरेको हो । गाउँपालिकाका ती वडामा २०६८ सालदेखि पहिरो बग्न थालेको थियो । विसं २०७२ बाट पहिराले गाउँलाई जोखिम बनाएर १३ परिवार विस्थापित हुनुपरेको थियो । पहिरो पीडित घर–परिवारलाई बुधबार पहिरो प्रभावित क्षेत्रमै पुगेर गाउँपालिकाका अध्यक्ष शमशेर राई, उपाध्यक्ष चन्द्रकला राईलगायत जनप्रतिनिधि र कर्मचारीले प्रतिपरिवार रु एक लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

 

पहिरोबाट विस्थापित भएका यामप्रसाद मगर, मनकुमारी लाप्चा, कौशिला खड्का, टङ्क बस्नेत, नरबहादुर बस्नेत, टेकबहादुर पिठाकोटी, इन्द्रबहादुर पिठाकोटी, भीमबहादुर मगर, बलबहादुर मगर, हस्तकुमारी मगर, भुवनकुमार बस्नेत, सन्तबहादुर लाप्चा र खड्गबहादुर राईको परिवारलाई प्रतिपरिवार रु एक लाखका दरले चेक हस्तान्तरण गरिएको हो । पहिरो पीडितलाई घर–जमिन व्यवस्थापन गर्न रकम दिइएको गाउँपालिकाका अध्यक्ष राईले बताउनुभयो ।

 

अध्यक्ष राईका अनुसार २०७४ सालमा स्थानीय तहको निर्वाचनपछि आफूहरु निर्वाचित भएर आउँदादेखि नै चुरे र जोखिम क्षेत्रको रोकथाम साथै नियन्त्रण गर्नका लागि निरन्तररुपमा पहल भइरहेको छ । गाउँपालिकाले मात्र नसक्ने भएर प्रदेश र सङ्घीय सरकारसमक्ष समेत सहयोगका लागि प्रक्रिया अगाडि बढाइएको उनले बताए। प्रदेशबाट यसअघि रु १० लाख विनियोजन भएर पहिराको फेदमा बाँध बाध्ने काम अगाडि बढेको उनले बताए । रासस