२०८१ पुष २५ , बिहिवार

प्रधानमन्त्री र म पुँजीगत खर्च बढाउन निरन्तर लागीपरेका छौं : अर्थमन्त्री

सुनाखरी न्युज/ पोखरा । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले पुँजीगत खर्च बढ्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवा र आफू चिन्तित बनेको बताउनुभएको छ । कास्कीको लेखनाथ उद्योग बाणिज्य संघले आयोजना गरेको लेखनाथ महोत्सवको बिहिबार उद्घाटन गर्दै अर्थमन्त्री शर्माले २४ फागुनसम्म १९.१५ प्रतिशत मात्रै पुँजीगत खर्च भएको भन्दै सबै विकासे मन्त्रालयलाई खर्च बढाउन दबाब दिएको जानकारी दिनुभयो ।

‘पुँजीगत खर्च लक्ष्यअनुसार हुन नसकेकोमा प्रधानमन्त्रीज्यू र म पनि चिन्तामा छौं’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूले पनि विकासे मन्त्रालयसँग छलफल थाल्नुभएको छ । मैले त बुधबार नै छलफल गरेर बजेटको लक्ष्य र कार्यक्रमअनुसार खर्च बढाउन दबाब दिएको छु । फेरी पनि विभिन्न माध्यमबाट ताकेता गरिरहनेछु ।’उहाँले विकास खर्च लक्ष्यअनुसार हुन नसक्दा तरलतामा असर देखिएको बताउनुभयो । ‘अहिलेको तरलता समाधान गर्न ३० अर्ब रुपैयाँ बजारमा आउनुपर्ने देखिन्छ । केही दिनअघि ११ अर्ब रुपैयाँ त आएको छ तर यो समस्या समाधान गर्नका लागि पर्याप्त छैन’ उहाँले भन्नुभयो । प्रधानमन्त्री देउवासँग समन्वय गरी अर्थतन्त्रमा देखिएका समस्या हल गर्न निरन्तर संवाद अघि बढाएको पनि उहाँले बताउनुभयो ।

पुँजीगत खर्च गर्ने परम्परागत शैलीका कारण लक्ष्यअनुसार उपलब्धि हाँसिल नभएको उहाँले बताउनुभयो । गत बर्ष पनि पँुँजीगत खर्चमा उल्लेख्य प्रगति नभएको स्मरण गराउँदै उहाँले भन्नुभयो, ‘गत बर्षको माघ मसान्तसम्म १७.८६ प्रतिशत पुँजीगत खर्च भएको थियो । यो बर्ष २५ भदौमा प्रतिस्थापन विद्येयक ल्याई बजेट कार्यान्वयन नै ढिला हँुदा पनि गत बर्षको तुलनामा एक प्रतिशत मात्रै कम अर्थात् १६.०८ प्रतिशत पुँजीगत खर्च भएको छ’ उहाँले भन्नुभयो । केही आयोजनाको काम सम्पन्न भएपनि भुक्तानी गर्न बाँकी रहेकाले पँुजीगत खर्च लक्ष्यअनुसार नदेखिएको उहाँले बताउनुभयो । आर्थिक बर्षको अन्त्यसम्ममा ९० प्रतिशत पुँजीगत खर्च गर्न निर्देशन दिएको र त्यसमा आफु आशावादी रहेको उहाँले बताउनुभयो ।

अर्थतन्त्र बाहिर हल्ला गरेजस्तो निराशजनक छैन
अर्थमन्त्री शर्माले बाहिर हल्ला गरे जस्तो अर्थतन्त्र निराशजनक अवस्थामा नरहेका बताउनुभएको छ । विभिन्न क्षेत्रका तथ्यांक बताउँदै उहाँले अर्थतन्त्र सरकारको नियन्त्रणमै रहेको र चाँडै समस्या समाधान हुने बताउनुभयो । ‘गत आर्थिक बर्ष ०७७–७८ को पहिलो ६ महिनामा मूल्यवृद्धिको दर ३.५६ प्रतिशत बिन्दुमा थियो । चालू आवको शुरुबाटै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम, खाने तेल, प्लास्टिक, स्टील तथा स्टीलजन्य बस्तुलगायको निरन्तर मूल्य वृद्धि हुँदा नेपालमा असर देखिएको छ । यद्यपी, चालू आवको मध्यावधि समिक्षा गर्दा मूल्यवृद्धि दर ५.०३ प्रतिशतमा रही बाञ्छित सिमा भित्रै रहेको छ’ उहाँले भन्नुभयो ।

गत बर्षको तुलनामा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य सतप्रतिशत बढेको, खाने तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमै ७० प्रतिशतसम्म बढेको जानकारी उद्योगीले नै दिएको, प्लास्टिक, स्टील र स्टीलजन्य बस्तुको अन्तर्राष्ट्रिय मूल्य पनि ५० देखी ६० प्रतिशत बढेको तथ्यांक देखाउँदै उहाँले भन्नुभयो, ‘यसरी अन्तर्राष्ट्रिय भाउ बढ्दा हामीले भुक्तानी गर्ने रकम बढ्न गई शोधानान्तरमा चाप परेको हो । यद्यपी, हामीले आयातमा कडाई गर्ने नीति लिएर शोधानान्तर घाटाको हालको स्थितिलाई न्यूनीकरण गर्ने प्रयास गरिरहेका छौं ।’घट्दो रेमिट्यान्सको समस्या समाधान गर्न हुण्डी कारोबारलाई नियमन गर्न थालेको तथा क्रिप्टोकरेन्सी, डिजिटल नेटवर्किङ, हाइपर फण्डलगायतका गैरकानूनी आर्थिक क्रियाकलाप रोक्न प्धानमन्त्री शेरबहादुर देउवासँग छलफल गरी प्रहरी, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभागलगायतको समन्वयमा क्रियाशील भइरहेको उहाँले बताउनुभयो ।

चालू आर्थिक बर्षमा निर्यात व्यापारमा ठूलो सुधार ल्याएको उहाँले बताउनुभयो । ‘निर्यातमा निक्कै ठूलो सुधार भएको छ । विगतमा एक खर्बको निर्यात गर्न एक आर्थिक बर्ष कुर्नुपर्ने अवस्था थियो । अहिले त्यसलाई अन्त्य गरिएको छ’ उहाँले भन्नुभयो, ‘यसपाली ६ महिनामै निर्यातमा ९५.५ प्रतिशत सुधार भई निर्यात एक खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । माघ मसान्तसम्म निर्यात झन् सुधार भई एक खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ ।’ कूल बैदेशिक व्यापारमा निर्यातको हिस्सा गत बर्ष माघ मसान्तसम्म ८ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा निर्यातको हिस्सा बढाएर १०.२९ प्रतिशत पु¥याइएको उहाँले जानकारी दिनुभयो । त्यस्तै कूल बैदेशिक व्यापारमा निर्यातको हिस्सा बढाउँदै लगिने उहाँले बताउनुभयो ।

निजी क्षेत्रलाई अशिंयार बनाई काम गर्ने
अर्थमन्त्री शर्माले निजी क्षेत्रलाई साझेदार नभई अशिंयार बनाई आर्थिक विकासका क्षेत्रमा काम गर्ने बताउनुभएको छ । ‘देशको अर्थतन्त्रमा निजी क्षेत्रको ७२ प्रतिशत योगदान छ । यस्तो योगदान गर्ने क्षेत्रलाई सरकार अशिंयार बनाई काम गर्न चाहन्छ’ उहाँले भन्नुभयो । उहाँले पोखरामा कम्तीमा ५ दिनसमम पर्यटकहरु बस्नैपर्ने गरी पूर्वाधार विकास गर्न पनि आग्रह गर्नुभयो । त्यस्तै पोखरामा आन्तरिक पर्यटक बढी हुने भएकाले देशका अन्य सहरसँग पोखराको दुरी छोटो हुने गरी पूर्वाधार विकास गर्ने योजना बनाइरहेको पनि जानकारी दिनुभयो ।