२०८१ आश्विन १३ , आइतवार

निलम्बित प्रधान न्यायाधीश राणा विरुद्धको महाभियोग पारित गरि अनियमिततामा कारबाई गर्न माग

सुनाखरी न्युज/ काठमाडौं । मानव अधिकार तथा शान्ति समाजको चौवीसौ राष्ट्रिय परिषद् बैठक २०७८ फागुन २७–२८ गते कपिलवस्तुको वाणगंगामा सम्पन्न भएको छ ।

 

विभिन्न जिल्लाबाट २०० भन्दा बढी अधिकारकर्मीहरुको सहभागिता रहेको राष्ट्रिय परिषद् बैठकले गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा ः सबैको अधिकार भन्ने आह्वानसहित आठ वटा प्रस्ताव पारित गरेको छ । न्यायालय शुद्धिकरणका लागि विशेष पहल गर्न आग्रहसहित निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव पारित गरि निजलाई पदच्युत गर्न र अनेकौ अनियमिततामा संलग्न चोलेन्द्र शम्शेरलाई आवश्यक कारबाई गर्न समेत राष्ट्रिय परिषद् बैठकले माग गरेको छ ।

 

राष्ट्रिय परिषद् बैठकले रुसलाई तत्काल सेना फिर्ता गरी युद्ध रोक्न र युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाको लागि योगदान गर्न आह्वान गरेको छ । एक निष्पक्ष संस्थाको रुपमा मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमिति र जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको विभिन्न निकायमा संलग्नता सीमा सम्बन्धमा पनि राष्ट्रिय परिषद् बैठकले प्रस्ताव पारित गरेको छ ।कपिलवस्तुको वाणगंगामा फागुन २७ गते विख्यात नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले राष्ट्रिय परिषद् बैठकको उद्घाटन गर्नुभएको थियो भने शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवाहरुले मन्तव्य गर्नुभएको थियो । फागुन २८ गते बिहान सांकेतिक तवरमा वाणगंगा नदीमा सफाई कार्यक्रमका साथै राष्ट्रिय परिषद् बैठकको सेरोफेरोमा रक्तदान, शान्ति र्याली, शान्ति दीप प्रज्वलनसहित आधा दर्जन कार्यक्रम आयोजना गरिएको थियो ।

 

शान्ति समाज कपिलवस्तु शाखाको आतिथेयमा सम्पन्न राष्ट्रिय परिषद् बैठक आयोजनाका लागि शाखा सभापति गोविन्द पोख्रेलको संयोजकत्वमा मूल तयारी समितिसहित १३ वटा उपसमिति गठन गरिएको थियो भने कार्यक्रमको सम्पूर्ण खर्च आतिथेय कपिलवस्तु शाखाले स्थानीय स्तरमा संकलन गरी वहन गरेका थिए र यातायात खर्च सहभागीहरु आफैँले वहन गरेका थिए ।