२०८१ कार्तिक १९ , सोमवार

समृद्ध सिन्धुली अभियानले युद्ध संग्रहालयलाई दियो तस्बिर र पुस्तक

सुनाखरी न्युज/ काठमाडौं । समृद्ध सिन्धुली अभियानले युद्ध संग्रहालयलाई दियो तस्बिर र पुस्तक, सिन्धुलीगढीको प्रबर्धनमा हातेमालो गर्ने अभियानको अठोट समृद्ध सिन्धुली अभियानले ऐतिहासिक सिन्धुलीगढीस्थिति युद्ध संग्रहालयलाई सिन्धुलीका विभिन्न स्थानका दृष्य, जनजीवन झल्काउने तस्बिरहरु र सिन्धुलीगढी ऐतिहासिक चित्रकथा हस्तान्तरण गरेको छ ।

सिन्धुलीगढी युद्ध संग्रहालयमा मंगलबार आयोजित कार्यक्रममा अभियानका संयोजक भुवन थापा, अभियन्ताहरु लीलानाथ घिमरे, सौरभ ढकाल, दीपक श्रेष्ठ र हरिकृष्ण श्रेष्ठले संग्रहालयका संयोजक रबिन योञ्जनलाई ती तस्बिर, पुस्तक र पोष्टकार्डहरु हस्तान्तरण गरे ।अभियानले स्टोरी साइकलको सहयोगमा तयार गरेका ३४ थान फ्रेमसमेतका तस्बिर, २५० थान सिन्धुलीगढी चित्रकथा र ७० थान सिन्धुलीको चिनारी दिने पोष्ट कार्ड छन् । अभियानले काभ्रेको नमोबुद्धदेखि सिन्धुलीको अग्लो स्थान फिक्कलसम्म महाभारत डाँडै डाँडा पदयात्रा गर्दा र ऐतिहासिक हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्म पदयात्रा गर्दा बाटोमा खिचेका विभिन्न स्थानका दृष्य, जनजीवनका तस्बिरहरु संग्रहालयलाई दिएको हो ।

ती तस्बिर अभियानले यसअघि काठमाडौंस्थित पर्यटन बोर्ड र सिन्धुलीको हरिहरपुरगढीमा प्रदर्शन गरेको थियो । यही क्रममा हरिहरपुरगढीलगायतका विभिन्न स्थानको पोष्टकार्ड समेत तयार गरेको थियो । अभियानले सिन्धुलीगढीबारे स्कुले विद्यार्थीहरुलाई जानकारी दिन तयार गरेको चित्रकथा पनि युद्ध संग्रहालयलाई हस्तान्तरण गरेको छ । ती पुस्तक बद्रि विक्रम स्मृति सेवा गुठीले प्रकाशन गरकेो हो । ती चित्रकथा कमलामाई नगरपालिकाभित्रका विद्यालयहरुलाई वितरण गर्ने गरी संग्रहालयलाई दिइएको अभियन्ता सौरभ ढकालले बताए ।

युद्ध संग्रहालयमा आयोजित कार्यक्रममा अभियानका संयोजक भुवन थापाले सिन्धुलीगढीको प्रबर्धनमा अभियानले गर्दै आएका गतिबिधिको चर्चा गर्दै आगामी दिनमा पनि हातेमालो गरेर अगाढि बढ्ने बताए । तस्बिर र पुस्तक ग्रहण गर्दै संग्रहालयका संयोजक रविन योञ्जनले अभियानले प्रदान गरेका सामग्री अब संग्रहालयको सम्पत्ति भएको बताउँदै ती सामग्रीले सिन्धुलीलाई चिनाउन सघाउने बताए ।