२०८१ आश्विन ६ , आइतवार

स्थानीय तहको निर्वाचनमा कलमले कमाल गर्छ : माधव नेपाल

सुनाखरी न्युज/ काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको चुनाव चिह्न ‘कलमले कमाल गर्ने’ बताएका छन् ।

 

बिहीबार पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा आयोजित होली पर्व विशेष कार्यक्रममा उनले प्रचार अभियान गाउँ–गाउँमा पुर्‍याउन नेता–कार्यकर्ताहरूलाई निर्देशन पनि दिए ।‘वैशाख ३० गतेको चुनावको बेलामा कलमको कमाल देखिन सक्नुपर्दछ । सत्य र न्यायको रूपमा रहेको त्यो कलमले अवश्य कमाल गर्नेछ भन्ने आशा गर्दै कलमको प्रचार अभियानमा गाउँ–गाउँ, टोलमा जनताको माझमा पुगौँ ।’ उनले पार्टीको समार्थ्य चुनावमा देखिने पनि बताए ।

खिसिटिउरी गर्नेहरूको हरिबिजोग चुनावले नै देखाउने उनको भनाइ छ । ‘हाम्रो खिसिटिउरी गर्नेहरूको हरिबिजोग त्यही बेलामा थाहा हुनेछ । घमण्डको पोको भएको रावणको नाश भएजस्तै होलिका दहन भएजस्तै त्यस्ताहरूको नाश, दहन होस्,’ उनले भने ।