सुनाखरी न्युज/ काठमाडौं –
यामाहा मोटर यतिबेला एमटी-१५लाई नयाँ आवरण र थप विशेषतासहित सार्वजनिक गर्ने तयारीमा छ। कम्पनीले यामाहा एमटी-१५ सार्वजनिक भएको लामो समयसम्म पनि यसको परिमार्जित र अद्यावधिक मोडलहरू सार्वजनिक गर्नमा चासो देखाएन।
भारतीय अखखबार टाइम्स ड्राइभका अनुसार अब भने कम्पनीले रिफ्रेस्ड एमटी-१५ सार्वजनिक गर्ने तयारी गरेको हो। नयाँ एमटी-१५ छिट्टै भारतीय बजारमा सार्वजनिक हुने बताइएको छ। भारतमा सार्वजनिक भएसँगै नेपाली बजारमा पनि सार्वजनिक हुने सम्भावना बढी हुन्छ। कम्पनीले हाल भारतमा १५५ सिसीको एमटी-१५ मोडलको बुकिङ समेत बन्द गरेको छ।
२०२२ यामाहा एमटी-१५ पहिलेको संस्करणको तुलनामा बढी आकर्षक र पावरफुल हुने अनुमान छ। यसको अगाडि भाग एलइडी प्रोजेक्टर हेडल्याम्पसहित थप अग्रेसिभ देखिने अनुमान छ। रिपोर्टहरू अनुसार अद्यावरण गरिएको यामाहा एमटी-१५ थप स्पोर्टी देखिनेछ। नयाँ एमटी-१५मा ब्लुटुथ कनेक्टिभिटी सहितको नयाँ एलसिडी इन्स्ट्रुमेन्ट क्लस्टर हुनेछ। जसले कल र मेसेज अलर्ट, इन्धन खपत विवरण, रिअल-टाइम इन्धन खपत, खराबीबारे सूचना, बाइक पत्ता लगाउने, पार्किङ रेकर्ड, सवारी इतिहास लगायत विशेषताहरू जान्न सकिन्छ।
नयाँ यामाहा एमटी-१५ मा ड्युअल च्यानल एबिएस हुने अनुमान छ। यसमा पहिलेको एनटी-१५ मा पहिले जस्तै भिभिए प्रविधिसहितको १५५ सिसी सिंगल-सिलिन्डर इन्जिन हुने बताइएको छ। जसले १८ बिएचपी पावर र १४ एनएम टर्क जेनेरेट गर्छ। बाइकमा ६ स्पीड गियर बक्स हुनेछ। कम्पनीले नयाँ एमटी-१५ को मूल्य र अन्य विशेषताहरूबारे सम्पूर्ण विवरण खुलाएको छैन।
तर हाल बजारमा उपलब्ध एमटी-१५ को तुलनामा यो महंगो हुने अनुमान छ। हाल भारतीय बजारमा एमटी-१५ को मूल्य एक लाख ४७ हजार रुपैयाँदेखि एक लाख ५० हजार रुपैयाँबीच छ। नेपाली बजारमा समेत यामाहाको एम-१५ ले युवा पुस्तामाझ लोकप्रियता कमाएको छ। नेपालमा यसको सुरुवाती मूल्य ४ लाख ५९ हजार ९ सय रुपैयाँ तोकिएको छ। एजेन्सी