सुनाखरी न्युज/ काठमाडौं –
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी अतिक्रमण अन्त्य गराउने वार्ता विफल हुनुको अर्थ “तृतीय विश्वयुद्ध” हुने बताएका छन्।सीएनएन टेलिभिजनसँग आइतवार कुरा गर्दै जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष कुरा गर्न आफू तयार रहेको जनाए।
जारी लडाइँ अन्त्य गर्ने एउटै बाटो भनेको वार्ताहरू भएको कुरामा आफ्नो विश्वास रहेको पनि उनले उल्लेख गरे। “मलाई लाग्छ सहमति गर्ने सम्भावना पहिल्याउनका निम्ति जुनसुकै स्वरूप, अवसरको सदुपयोग गर्नुपर्छ,” जेलेन्स्कीले भने।यद्यपि रुससमर्थित पृथकतावादीको पकडमा रहेका क्षेत्रहरूलाई युक्रेनले स्वतन्त्र भएको मान्यता दिनुपर्ने कुनै सम्झौतामा सहमति जनाउन नसक्ने उनले स्पष्ट पारे।जेलेन्स्कीका अनुसार युक्रेन उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको सदस्य भएको भए “युद्ध शुरू हुने थिएन”। “नेटोका सदस्य राष्ट्रहरू हामीलाई आफ्नो गठबन्धनमा हेर्न तयार छन् भने त्यो तत्काल गर्नुपर्यो। किनकि हरेक दिन मानिसहरू मरिरहेका छन्।”
यी हुन् पुटिनका माग
यसअघि बिहीवार रुसी राष्ट्रपति पुटिनले युक्रेनसँग सम्झौताका लागि टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनमार्फत् टेलिफोन वार्ताका क्रममा आफ्ना मागहरू अघि सारेका थिए। एर्दोआनका एक प्रमुख सल्लाहकार इब्राहिम कालिनका अनुसार रुसका मागहरू दुई भागमा बाँडिएका छन्। उनका अनुसार शुरूका चारवटा रुसी माग पूरा गर्न युक्रेनलाई धेरै गाह्रो नहुन सक्छ।
एउटा प्रमुख माग युक्रेन तटस्थ बस्नुपर्ने र नेटोको सदस्यताका लागि अघि बढ्न नहुने रहेको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि यो मागलाई स्वीकारिसकेका छन्। पहिलो भागका अरू धेरैजसो माग रुसले जितेको जस्तो देखाउने खालका छन्। युक्रेन निरस्त्रीकरणको प्रक्रियामा जानुपर्ने हुन्छ जसले रुसका लागि ऊ खतरा नभएको सुनिश्चित गरोस्। युक्रेनमा रुसी भाषालाई संरक्षण गर्नुपर्ने र सार्वजनिक जीवनबाट नाजीवादका सबै अवशेष एवं प्रभावको अन्त्य हुनुपर्ने माग छ।
यो माग चाहिँ जेलेन्स्कीका लागि अपमानजक छ जो आफैँ एक यहुदी हुन् र उनका पनि केही आफन्तहरू यहुदी नरसंहारमा मारिएका थिए।तर रुसको त्यो माग पनि पूरा गर्न जेलेन्स्कीलाई खासै गाह्रो नहुने टर्कीको विश्वास छ। नवनाजीवादका सबै स्वरूपको युक्रेनले निन्दा गर्दा पर्याप्त हुनेछ।दोस्रो भागका मागको हकमा चाहिँ कठिनाइ देखिन्छ र सहमतिमा पुग्नुअघि पुटिनका अनुसार जेलेन्स्कीसँग उनले प्रत्यक्ष वार्ता गर्नुपर्ने हुन्छ।जेलेन्स्कीले पनि पुटिनसँग प्रत्यक्ष वार्ता गर्नका लागि आफू तयार रहेको पहिल्यै बताइसकेका छन्।
दोस्रो भागका मागबारे एर्दोआनका सल्लाहकार कालिनले खासै ठोस कुरा गरेनन्। उनले ती मागहरू पूर्वी युक्रेनको डोन्बास क्षेत्रसँग सम्बन्धित रहेको बताए।त्यसबारे कालिनले विस्तृत त खुलाएनन्। तर युक्रेनले पूर्वी भूभाग छोड्नुपर्ने रुसी माग रहेको अनुमान गरिँदैछ जुन निकै पेचिलो विषय हुनेछ। अर्को अनुमान अनुसार युक्रेनले क्राइमियालाई रुसकै भूभागको रूपमा मान्यता देओस् भन्ने रुसको चाहना छ जुन कुरा युक्रेनका लागि साँच्चै फलामको चिउरा चपाए सरह हुनेछ। रुसले सन् २०१४ मा युक्रेनको क्राइमियालाई आफूमा गाभेको थियो। बिबिसी