२०८१ आश्विन १३ , आइतवार

टीयूमा देखिएका समस्या तत्काल समाधान हुनुपर्छ : मन्त्री भुसाल

सुनाखरी न्युज/ काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऐतिहासिक विरासत बोकेको त्रिभुवन विश्वविद्यालयमा चुनौती चुलिदै गएको बताउनुभएको छ ।

 

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, त्रिभुवन विश्वविद्यालय केन्द्रीय समितिको चौथो राष्ट्रिय अधिवेशन उद्घाटन कार्यक्रममा उहाँले विश्वविद्यालय सम्बद्ध पक्षले गम्भीर समीक्षा गरेर उत्पन्न चुनौतीलाई व्यवस्थापन गर्नेतर्फ लाग्न आग्रह गर्नुभयो । व्यक्तिले खोलेका शिक्षण संस्थाले नाफा कमाउने र त्यहाँ विद्यार्थीको लाइन हुने तर त्रिभुवन विश्वविद्यालयका कुनै संकायमा विद्यार्थीभन्दा शिक्षक बढी हुने अवस्था कसरी आयो भन्दै मन्त्री भुसालले व्यवस्थापन, प्रशासन र प्राध्यापन तीनै क्षेत्रले गम्भीर भएर जवाफ दिने अवस्था आएकोे बताउनुभयो । उहाँले ‘एकले अर्को लाई देखाउनेभन्दा पनि समस्याको समाधान कसरी गर्ने भन्ने विषयमा विशेष ध्यान जानुपर्छ’, भन्नुभयो ।

 

जनताको कर र जनताका छोराछोरीले तिरेको ‘फि’बाट चल्ने संस्थाले आफ्नो जिम्मेवारी भुल्न नहुने उल्लेख गर्दै मन्त्री भुुसालले साधन र स्रोतको सही तवरले सञ्चालन तथा व्यवस्थापन गरेर फाइदा लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “भिसी र रेक्टरकोमा ताला लागेको ६८ दिन भयो रे, एक दिन पनि बिलम्ब नगरी समस्याको समाधान खोज्नुहोस् ।” एकपछि अर्को समस्या त्रिभुवन विश्वविद्यालयबाटै उत्पन्न हुने गरेको उल्लेख गर्दै मन्त्री भुसालले शिक्षाले पार्ने प्रभाव व्यक्तिको जीवनभर र राष्ट्रको लागि सयौं वर्षसम्म पर्ने भएकाले उत्पन्न चुनौतिको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

 

त्रिभुवन विश्वविद्यालयले महत्वपूर्ण योगदान गरेको स्मरण गर्दै मन्त्री भुसालले भन्नुभयो, “अधिकांश सार्वजनिक क्षेत्रका जनशक्ति टीयूकै छन् । देशको विकासका निम्ति आवश्यक पर्ने जनशक्ति उत्पादनमा त्रिभुवन विश्वविद्यालयको महत्वपूर्ण योगदान छ ।” उहाँले त्रिभुवन विश्वविद्यालयको कर्मचारी हुनुमा गर्व गर्न सुझावसमेत दिनुभयो । कार्यक्रममा त्रिभुन विश्वविद्यालयका शिक्षाध्यक्ष शिव भुसालले समग्र शैक्षिक सुधारका लागि त्रिभुवन विश्वविद्यालयको सुधार हुनुपर्ने बताउनुभयो । उहाँले भुन्नुभयो, “टियुले शैक्षिक गुणस्तरको नेतृत्व गर्नुपर्छ, त्यसका लागि निरन्तर काम गर्नुपर्छ ।” कार्यक्रममा शैक्षिक क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।