२०८१ आश्विन १३ , आइतवार

स्मार्ट सिटीका लागि रोक्का राखिएको मध्ये ४४ हजार रोपनी जग्गा फुकुवा गर्न सिफारिस

सुनाखरी न्युज/ काठमाडौं । शहरी विकास मन्त्रालयले उपत्यकामा स्मार्ट सिटी निर्माणका लागि भन्दै रोक्का राखिएको हजारौं रोपनी जग्गा फुकुवा गर्न सिफारिस गरेको छ ।

 

मन्त्रालय अन्तर्गतको भौतिक विकास समितिको बिहीबार बसेको बैठकले उपत्यकाका चार दिशामा रोक्का गरिएको १ लाख रोपनी मध्ये ४४ हजार रोपनी जग्गा फुकुवा गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको अध्यक्षतामा बसेको बैठकले काठमाडौं र भक्तपुरका पाँच नगरपालिका भित्र पर्ने ४४ हजार रोपनी भन्दा बढी जग्गा फुकुवा गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

 

रोक्का रहेको एक लाख रोपनी मध्ये ५६ हजार रोपनीमा नयाँ नगर निर्माण गर्न सकिने भन्दै बैठकले उक्त जग्गाको कित्ताकाट रोक्का भने यथावत नै राखेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौंका कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिका तथा भक्तपुरको भक्तपुर नगरपालिका, मध्यपुर थिमी नगरपालिका र चाँगुनारायण नगरपालिकाभित्र निर्माण हुने नयाँ नगरको विस्तृत आयोजना प्रतिवेदन तयार गरिसकेको छ ।

 

सरकारले २०७४ बैशाख २४ गते काठमाडौं उपत्यकाका चार दिशामा नयाँ नगर निर्माण गर्ने निर्णय गर्दै एक लाख रोपनी जग्गाको कित्ताकाट रोक्का राख्ने निर्णय गरेको थियो । ठूलो मात्राको जग्गा रोक्का हुँदा उपत्यकामा जग्गाको भाउ अनावश्यक रुपमा बढेको छ । जग्गा फुकुवाले जग्गाको मूल्य वृद्धिलाई रोक्नसक्ने अनुमान गरिएको छ ।