२०८१ आश्विन १३ , आइतवार

अतिक्रमण गरी बनाइएका टहरा भत्काइयो

सुनाखरी न्युज/ रामपुर-

तानसेन नगरपालिका–५ स्थित बतासेडाँडामा अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइएको छ। ढुंगाखानी क्षेत्र तानसेन तम्घास सडकको दायाँ–बायाँतर्फको भू–भाग रातारात अतिक्रमण गरी बनाइएका १३ वटा टहरा डिभिजन वन कार्यालयले जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा भत्काएको हो।

 

अन्य सार्वजनिक क्षेत्रमा बनेका घरटहरा पनि भत्काउन २४ घण्टे ‘अल्टिमेटम’ दिइएको छ। सार्वजनिक जग्गा मिचेर विभिन्न टहरा बनाइ अतिक्रमण गर्न थालेको जानकारी पाउनासाथ स्थानीय वन उपभोक्ता र प्रहरी कार्यालयसमेतको सहभागितामा उनीहरूलाई हटाइएको उक्त कार्यालयका निमित्त डिभिजन वन अधिकृत संयोग बस्नेतले बताए।

 

विभिन्न बहाना बनाएर रातारात घरटहरा बनाएर सार्वजनिक जग्गा हडप्न थालिएकाले त्यसलाई रोक्न यहाँ बनाइएका संरचना भत्काइएको मिलिजुली पालेको रमाइलो सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष तुलबहादुर रावलले बताए। अतिक्रमणकारीले दिउँसो, राति तथा साँझको समयमा २०–२० हातको मोहडाले करिब दुई हजार ५०० घडेरीमा किला गाडी अतिक्रमण गरेका थिए।

 

अतिक्रमित २०० रोपनी जग्गा त्रिभुवन बहुमुखी क्याम्पसको विज्ञान भवनको क्षेत्रको र १०० रोपनी सोही आसपासको जग्गा रहेको छ। अतिक्रमणकारीले नगरपालिकामा तिरो तिरेर टहरा बनाउन अनुमति पाएको बताएका थिए। समयमै जानकारी नदिई टहरा भत्काउँदा उनीहरू आक्रोशित भएका थिए। जिल्लाका नेतृत्व तहमा रहेका केही जनप्रतिनिधि तथा नेताहरूको समेत जग्गा यसै क्षेत्रमा रहेको बुझिएको छ। रासस