२०८१ आश्विन १४ , सोमवार

शान्ति समाजको २४ औँ राष्ट्रिय परिषद् बैठकद्वारा रुसलाई युद्ध रोक्न आग्रह

सुनाखरी न्युज/ काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले “युद्ध निषेध : शान्ति विशेष” भन्ने आह्वानसहित युद्धको कुनै पनि संभावनालाई खारेज गर्न र शान्ति प्रवद्र्धन गर्न जोड दिँदै लामो समयदेखि अभियान सञ्चालन गर्दै आएको छ ।

 

पछिल्लो चरणमा रुस र युक्रेनबिच तनाव बढ्दै युद्धको बादल मडारिन थालेपछि मानव अधिकार तथा शान्ति समाजले युद्ध टार्ने कुटनीति र युद्धको कुनै पनि संभावनालाई खारेज गर्नुपर्नेमा जोड दिँदै नेपालमा विशेष अभियान प्रारम्भ गरेको थियो । यसै सन्दर्भमा रुस र युक्रेनबिच बढ्दो तनाव अन्त्य गर्न, युद्धको कुनै पनि सम्भावनालाई खारेज गर्न आग्रह सहित मानव अधिकार तथा शान्ति समाजले २०७८ माघ २० गते रुपन्देहीको बुटवलमा प्रदर्शन गरेको थियो भने २०७८ माघ २४ गते शान्ति समाज जिल्ला शाखाहरुको आयोजनामा काठमाण्डौ, दाङ, चितवन र पाल्पामा प्रदर्शन भएको थियो ।

 

रुस–युक्रेनबिच युद्धको आशंका बढ्दै जाँदा संयुक्त राष्ट्रसंघलाई युद्धको कुनै पनि संभावनालाई टार्न÷खारेज गर्न अझ विशेष पहलका लागि आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले २०७८ फागुन ५ गते नेपालस्थित राष्ट्रसंघीय कार्यालय पुल्चोक अगाडि प्रदर्शन गरेको थियो । प्रदर्शनपश्चात रुस–युक्रेनबिच बढ्दो तनाव कम गर्न र युद्धको कुनै पनि संभावनालाई टार्न÷खारेज गर्नका लागि संयुक्त राष्ट्रसंघले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै मानव अधिकार तथा शान्ति समाजका तर्फबाट संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई लेखिएको पत्र नेपालस्थित राष्ट्रसंघ कार्यालयमा हस्तान्तरण गरिएको थियो ।

 

यसैगरी शक्तिशाली राष्ट्र रुसले युक्रेनको सार्वभौमसत्तामाथि धावा बोल्दै सेना परिचालन गर्ने आपत्तिजनक निर्णय गरेपछि मानव अधिकार तथा शान्ति समाजले रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न विशेष आग्रहसहित २०७८ फागुन ११ गते नेपालस्थित रुसी राजदुतावास वालुबाटार अगाडि प्रदर्शन गरेको थियो । प्रदर्शन पश्चात मानव अधिकार तथा शान्ति समाजका तर्फबाट रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई लेखिएको पत्र नेपालस्थित रुसी राजदुतावासका अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।

 

युद्धले लाखौ करोडौ मानिसको अधिकारमाथि घात गर्ने हुँदा कुनै पनि हालतमा युद्ध हुनु हुदैँन र शान्तिपूर्ण तवरमा हरेक समस्याको समाधान खोजिनुपर्छ भन्ने शान्ति समाजको मान्यता रहेको उल्लेख गर्दै रुसी राष्ट्रपति पुटिनलाई लेखिएको पत्रमा भर्खरै मात्र युक्रेन सन्दर्भमा रुसले गरेको निर्णयबाट मानव अधिकार तथा शान्ति समाज एवं शान्ति समाजमा आवद्ध दशौ हजार सदस्य तथा शुभचिन्तक अत्यन्त चिन्तित भएको जनाउँदै मित्र राष्ट्र रुसलाई तत्काल सेना फिर्तासहित युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्नका लागि मानव अधिकार तथा शान्ति समाज विशेष आग्रह गर्दछ भनिएको थियो ।

 

२०७८ फागुन १२ गते रुसले युक्रेनमाथि गरेको भिषण आक्रमणको निन्दा गर्दै रुसलाई तत्काल युद्ध रोक्न र युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाको आह्वानसहित शान्ति समाजले देशव्यापी अभियान प्रारम्भ गरेको छ । यस क्रममा फागुन १३ गते विराटनगरमा, फागुन १५ गते दाङमा, फागुन १६ गते काठमाण्डौमा, फागुन १७ गते नवलपुरमा, फागुन १८ गते पाल्पामा र फागुन १९ गते अछाममा रुसी आक्रमणको विरोध र तत्काल युद्ध रोक्न आग्रहसहित प्रदर्शन भइसकेको छ ।

मानव अधिकार तथा शान्ति समाजको यो राष्ट्रिय परिषद् बैठक, रुसलाई युक्रेनबाट तत्काल सेना फिर्ता गर्न, युद्ध रोक्न र युक्रेनको सार्वभौमसत्तालाई सम्मान गर्न विशेष आग्रह गर्दछ ।