२०८१ आश्विन १४ , सोमवार

गण्डकी प्रज्ञा प्रतिष्ठानको दुरा र तामाङ भाषा प्रशिक्षण कार्यक्रम सुरु

राजाराम पौडेल/ पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा दुरा भाषा तथा तामाङ भाषा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । जस अन्तर्गत दुरा मातृभाषा प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नम्बर १० मा आयोजना गरिएको हो ।

 

दुरा समाज, हाँडीखोला समाजको सहकार्यमा सुरु भएको भाषा प्रशिक्षण कार्यक्रममा २५ जना प्रशिक्षार्थीको सहभागीता रहेको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रमको प्रशिक्षकमा मुक्ति प्रसाद अधिकारी रहनुभएको छ । दुई महिनासम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रमको शुभारम्भ गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीले गर्नुभएको थियो ।

 

यस्तै गण्डकी प्रज्ञा प्रतिष्ठान गण्डकीकै आयोजनामा तामाङ मातृभाषा प्रशिक्षण कार्यक्रम पोखरामा आयोजना गरिएको छ । नेपाल तामाङ घेदुङ कास्की र नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिसँगको सहकार्यमा प्रशिक्षण कार्यक्रम आरम्भ भएको हो । ३० जना प्रशिक्षार्थीको सहभागीता रहेको प्रशिक्षण कार्यक्रमको प्रशिक्षक दीपक तामाङ हुनुहुन्छ । गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले शुभारम्भ गर्नुभयो । यो प्रशिक्षण कार्यक्रम समेत दुई महिना सञ्चालन हुने सदस्यसचिव श्रेष्ठले बताउनुभयो ।

 

गण्डकी प्रज्ञा प्रतिष्ठानले स्थापित जाती विस्तापित भाषा नाम दिएर प्रशिक्षण कार्यक्रम गरिरहेको छ । प्रतिष्ठानले यो वर्ष ५ वटा जातीको भाषाका कक्ष संचालन गर्ने उद्देश्य राखेको छ । जस अनसार गुरुंङ समुदायको भाषा प्रशिक्षण कार्यक्रम पौष १५ गतेबाट र नेवार समुदायको भाषा प्रशिक्षण कार्यक्रम चैत्र १ गते बाट सञ्चालन गरिएको थियो ।

 

माग भएका ठाउँमा भाषा प्रशिक्षण कार्यक्रम गर्ने योजना प्रतिष्ठानले बनाएको सदस्य सचिव श्रेष्ठको भनाई छ । प्रतिष्ठानले साहित्यका सबै विधालाई महत्वका साथ स्थान दिँदै यिनको संरक्षण तथा प्रवद्र्धन गर्न निरन्तर कार्य गर्ने उहाँले बताउनुभयो । अब छिट्टै मगर समुदायको भाषा प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गर्ने तयारी प्रतिष्ठानले बनाएको छ । प्रतिष्ठानले मगर समुदायको ऐतिहासिक पुस्तक समेत प्रकाशन गर्दैछ ।