२०८१ आश्विन ६ , आइतवार

स्थानीय तह निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ ।

 

आयोगले आइतबार सार्वजनिक गरेको विवरणअनुसार कूल मतदाता एक करोड ७७ लाख ३३ हजार ७२३ रहेका छन् । कुल मतदातामध्ये पुरुषको संख्या बढी छ । आयोगका अनुसार पुरुष मतदाता ८९ लाख ९२ हजार १० र महिला मतदाता ८७ लाख ४१ हजार ५३० रहेका छन् । यस्तै, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका १८३ जना मतदाता छन् ।

 

आयोगले २०७४ सालको स्थानीय निर्वाचनमा भन्दा यस पटक ३६ लाख ६१ हजार १९९ जना नयाँ मतदाता थपिएको जनाएको छ । यसपटक सबैभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २ सय २३ जना र सबैभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ मतदाता रहेका छन् । मतदाता नामावलीमा नाम समावेश भएर निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष उमेर पुगेकाहरुले यसपटकको निर्वाचनमा मतदान गर्न पाउने आयोगले जनाएको छ ।

आयोगले ७५३ स्थानीय तहका लागि १० हजार ७५३ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको जनाएको छ ।