२०८१ पुष ८ , सोमवार

एनआईबिएल समृद्धि फन्ड–१ को लगानी रकम फिर्ता

सुनाखरी न्युज/ काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही एनआईबिएल म्युचअल फन्डअन्तर्गत सञ्चालनमा रहेको एनआईबिएल समृद्धि फन्ड–१ गत पुस २२ गते परिपक्व भएको थियो।

यो फन्डले आफ्नो इकाईधनीहरुले लगानी गरेको रकम चैत १३ गतेबाट फिर्ता गरेको छ। फिर्ता भुक्तानी रकम प्रचलित कानुनबमोजिम करकट्टा गरी इकाइधनीहरुको हितग्राही खातामा रहेकोे बैंक खातामा नै जम्मा गरिएको क्यापिटलले जनाएको छ। यस योजनाले १० रुपैयाँ अंकितदरका कुल १० करोड इकाइको सार्वजनिक निष्कासन गरेको थियो। योजनाको अन्तिम प्रतिइकाइ खुद सम्पत्ति मूल्य १२.७४ रुपैयाँ कायम भएको छ। सोहीअनुसार नै फिर्ता भुक्तानी गरिएको क्यापिटलले जनाएको छ।

 

सञ्चालन अवधि ७ वर्ष रहेको यस योजनाले औसत वार्षिक १७.९९% प्रतिफल प्रदान गरेको छ। आर्थिक वर्ष २०७७/७८ मा यस योजनाका इकाईधनीहरुले सर्वाधिक ३५% नगद लाभांश पाएका थिए। आर्थिक वर्ष २०७२/७३, २०७३/७४, २०७४/७५, २०७५/७६ र २०७६/७७ मा भने क्रमशः १५%, १८%, १२%, ६.५% र १२% नगद लाभांश लगानीकर्ताहरुले पाएका थिए। हालसम्म क्यापिटलले ‘एनआईबिएल म्युचुअल फन्ड’ अन्तर्गत तीनवटा बन्दमुखी र एक खुलामुखी म्युचुअल फन्ड योजनाहरु सञ्चालनमा ल्याइसकेको छ। यसका साथै नयाँ बन्दमुखी योजना ‘एनआईबिएल ग्रोथ फन्ड’ नेपाल धितोपत्र बोर्डमा पेस भएर प्रारम्भिक चरणमा रहेको छ।