२०८१ आश्विन १४ , सोमवार

मोटरसाइकल दुर्घटना हुँदा चार बालकको मृत्यु, एक घाइते

सुनाखरी न्युज/ धनुषा –

धनुषाको सबैलामा गए राति भएको मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

 

 

सबैला नगरपालिका–१२ बरकुर्वामा राति ८:३० बजेतिर ज ६ प ६७३९ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार पाँचमध्ये चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । दुर्घटनामा परी सबैला नगरपालिका–२ निवासी १५ वर्षीय राहुल यादव, १२ वर्षीय लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ वर्षीय सुमित यादव रहेको प्रहरीले जनाएको छ ।

 

 

दुर्घटनामा परी गम्भीर भएका घाइतेलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याए पनि चार जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । सोही दुर्घटनामा सबैला–२ निवासी १९ वर्षीय सुरेन्द्र यादव पनि घाइते भएको र उनको प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । रासस