२०८१ पुष ९ , मंगलबार

रुसले युरोपमा ग्यास आपूर्ति रोके के हुन्छ ?

सुनाखरी न्युज/ काठमाडौं –

रुसले उसका ‘बैरी’ देशहरूलाई प्राकृतिक ग्यासको आयात रुबलमा सुरु गर्न मार्च ३१ को समय सीमा दिएको छ । व्यापारमा प्रयोग हुने मुद्रा फेरिने भएपछि रुसमाथि आर्थिक प्रतिबन्ध लगाउने देशहरु प्रभावित हुनेछन् । यसले विशेषगरी ठूलो परिमाणमा रुसी ऊर्जामाथि निर्भर रहँदै आएका ईयूका मुलुकहरुमा प्रभाव पर्ने छ ।

मार्च ३१ पछि के हुन्छ ?
यदि यी मुलुकले रुबलमा भुक्तानी नगरेमा युुरोपले सित्तैमा ग्यास नपाउने रुसले जनाएको छ । ‘हामी सित्तैमा ग्यासको आपूर्ति गर्ने छैनौं, यो स्पष्ट छ,’ क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले बताए ।भुक्तानी नगर्नेलाई ग्यास रोकिनेछ ? भनि सोधिएको प्रश्नमा भुक्तानी नगर्नेलाई ग्यास नदिइने पेसकोभले बताए । ‘भुक्तानी छैन, ग्यास पनि छैन,’ उनले थपे । युरोपेली मुलुकहरुले रुसी मुद्रामा भुक्तानी गर्न अस्वीकार गरेमा कस्तो खालको निर्णय गरिन्छ भन्ने विषयमा रुसले अझैसम्म केही बताएको छैन ।

रुसी ग्यासमा कत्तिको निर्भर छ युरोप ?
न्यानो बनाउन र ऊर्जा उत्पादनका लागि युरोप ठूलो मात्रामा रुसी ग्यासमाथि निर्भर रहँदै आएको छ । युरोपको कुल उपभोगको त्यस्तै ४० प्रतिशत रुसी ग्यास रहेको छ । यो वर्ष ईयूले रुसबाट गरेको ग्यासको आयात प्रतिदिन २० करोड र ८० करोड युरोकाबीच छ ।

रुसी ग्यासबिना के हुन्छ युरोपमा ?
युरोपेली आयोगले रुसी ग्यासमा ईयूको रहेको निर्भरतालाई यो वर्ष २ तिहाइले कटौती गर्ने योजना बनाएको छ । यद्यपि अर्थशास्त्रीहरूका अनुसार ईयूमा २०२१ मा भएको एक हजार ५५० टेरावाट–आवोर्सको भएको आपूर्तिलाई सहज हुनेछैन । युरोपले यसबाट हुने अभाव तत्कालै विस्थापित भने गर्न सक्दैन । यसका लागि माग नियन्त्रण गर्नु आवश्यक छ । जर्मनका चान्सलर ओलाभ स्कोल्जले रुसी ऊर्जा आयातमाथिको प्रतिबन्धले युरोपभरि आर्थिक मन्दी आउन सक्ने चेतावनी दिइसकेका छन् ।

के हुनेछ वृहत निहितार्थ ?
यसले विश्वव्यापी ऊर्जा संकटको जोखिम ल्याउने छ । रुस विश्वकै ठूलो प्राकृतिक ग्यास निर्यातकर्ता मुलुक हो र साउदी अरेबियापछि दोस्रो ठूलो कच्चा तेलको निर्यातक पनि रहेको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले जनाएको छ । रुसी ग्यासलाई विस्थापित गर्न सहज छैन । युरोपले खुला बजारमा ग्यास किन्नु पर्ने हुन्छ । यसको अर्थ यदि उनीहरुले कतार तथा अमेरिकाबाट ग्यास किनेमा बढी मूल्य तिर्नुपर्छ ।

तेलको मूल्य प्रभावित होला ?
रुसले युरोपेली संघका मुलुकहरुमा प्रतिदिन ४० लाख ब्यारेल तेल प्रतिदिन आपूर्ति गर्दै आएको छ । ग्यासको विपरीत दीर्घकालिन सम्झौता भएकाले तेलको मूल्य अस्थिर र आपूर्ति तथा मागबाट निश्चित हुने गरेको छ । यदि युरोपले रुसी तेल त्याग्ने निर्णय गरेमा कच्चा तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्न सक्छ र योभन्दा पनि माथि जान सक्ने विश्लेषकहरुले चेतावनी दिएका छन् ।

रुसले अन्य कमोडिटी पनि रुबलमै बिक्री गर्ला ?

राष्ट्रपति भ्लादिमिर पुटिनले प्राकृतिक ग्यास पहिलो रुबलमा भुक्तानीको माग गरिने कमोडिटी हुने बताइसकेका छन् । यदि पश्चिमाले थप प्रतिबन्ध लगाएमा अन्य रुसी बस्तु पनि रुबलमै भुक्तानी हुन सक्छ । यसमा कच्चा तेल, कोइला, धातु, खनिज, बहुमूल्य पत्थर, काठ, मल, खाने तेल र अन्न लगायतका बस्तु समावेश छन् ।

भुक्तानीको समयसीमा नजिकिएपछि सबैभन्दा पहिले कसलाई अप्ठ्यारो पर्छ ?
हालसम्म ईयू र जी–सेभेनका राष्ट्रहरुले ग्यासको भुक्तानी रुबलमा गरिनु पर्ने रुसी माग अस्वीकार गर्दै आएका छन् । रुसले सित्तैमा ग्यासको भुक्तानी नगर्ने बताइसकेको छ । यस अनुसार उसले ग्यासको आपूर्ति रोक्न सक्छ । यदि त्यसो भयो भने मस्कोले दैनिक २० करोडदेखि ८० करोड युरोसम्म गुमाउन सक्छ । यद्यपि रुसले पनि पुनः एसियातर्फ ग्यासको आपूर्ति गर्न सक्छ । युरोपले दोस्रो विश्व युद्धदेखि नै नदेखेको आर्थिक संकट भोग्न सक्छ । यस्तो अवस्थामा युरोपनै झुक्न सक्छ । एजेन्सी