२०८१ आश्विन ६ , आइतवार

अधिकांश स्थानीय तहमा उम्मेदवारी दिन्छौं : राप्रपा अध्यक्ष लिङ्देन

सुनाखरी न्युज/ काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी स्थानीय तह निर्वाचनमा अधिकांश स्थानमा उम्मेदवारी दिने बताएका छन् ।

 

शुक्रबार जनकपुरधामस्थित विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै लिङ्देनले पार्टीले राम्रो चुनावी नतिजा हासिल गर्ने पनि दावी गरे । ‘जे सक्छौ, त्यो गर्छौ, अधिकांश स्थानमा उम्मेदवारी दिइन्छ । पहिलाभन्दा बढी ठाउँमा जित्छौँ’, उनले भने । लिङदेनले पार्टीले यसअघि जितेका चार वटा स्थानीय तहलाई नमूना पालिकाको रुपमा विकास गरेकाले अब हुन लागेको स्थानीय तहको निर्वाचनमा बढी भन्दा बढी सिट जित्ने दावी गरे ।

 

राप्रपाले अघिल्लो स्थानीय तहको निर्वाचनमा ७५३ स्थानीय तह मध्ये ४० प्रतिशत स्थानमा मात्रै उम्मेदवारी खडा गर्न सकेको स्मरण पनि गरे । उदयपुरमा हुन लागेको राप्रपाको निर्धारित कार्यक्रममा सहभागी हुनका लागि उनी जनकपुर हुँदै उदयपुर गएका छन् ।