सुनाखरी न्युज/ काठमाडौँ –
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकताको आधारमा गठबन्धन गरिने बताएका छन्।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं १ ले आज बानेश्वरमा आयोजना गरेको ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको क्षेत्रीय भेलामा बोल्दै उनले संविधानको रक्षाका लागि गठबन्धन जोगाउनुपर्ने बताए। ‘गठबन्धन जनताले दिएको म्याण्डेड नभई परिस्थितिले सृजना गरेको हो, यसलाई जोगाउँदै स्थानीय तहको निर्वाचनसम्म जानु अहिलेको आवश्यकता हो, स्थानीय आवश्यकताअनुसार आगामी निर्वाचनमा गठबन्धन हुन्छ’, नेता सिंहले भने।
पूर्वमहामन्त्री सिंहले पार्टीले गरेका निर्णयलाई सबैले मानेर अगाडि बढ्नुपर्ने धारणा राखे।पार्टीका नेताले पार्टीले गरेका निर्णयको विरूद्धमा बोल्दा समाजमा नकारात्मक भ्रम सृजना हुने भन्दै उनले यसप्रति सचेत रहन सबैलाई आग्रह गरे। नेता सिंहले देशको हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको भन्दै एमसिसीबारे जनताप्रति फैलाइएको नकारात्मक भ्रम चिर्न जरूरी रहेको उल्लेख गरे। कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीको संगठन बलियो बनाउनका लागि सबै लाग्नुपर्ने बताए।
यसपटक कांग्रेसको पक्षमा लहर आएको भन्दै उनले सबैले मेहनत गर्नुपर्ने बेला आएको उल्लेख गरे। कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले भ्रमको पक्षमा नलागी जनताको घर-घरमा पुगेर कांग्रेसको पक्षमा भोट माग्न सबैलाई आग्रह गरे। सो अवसरमा विभिन्न पार्टी परित्याग गरी १५० जनाभन्दा बढी कांग्रेसमा प्रवेश गरेका थिए। रासस