२०८१ पुष १४ , आइतवार

भारतमा पछिल्लो १३ दिनमा ११ पटक बढ्यो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला?

सुनाखरी न्युज/ काठमाडौं –

भारतमा पछिल्लो १३ दिनमा ११ पटक पेट्रोलियम पदार्थको मूल्य बढेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले भारतीय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढाउनु परेको अधिकारीहरूले जनाएका छन्।

 

पछिल्लो १३ दिनमा ११ पटक मूल्य वृद्धि हुँदा पहिलाभन्दा प्रति लिटरमा ८ रूपैयाँ मूल्य बढी भएको छ। आइतबार भारतमा पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। भारतमा पछिल्लो समय प्रतिलिटरमा ८० पैसाको दरले मूल्य वृद्धि भएको हो। यो सँगै भारतमा सबैभन्दा बढी मुम्बईमा पेट्रोलको मुल्य ११८.४१ भारतीय रूपैयाँ पुगेको छ। यस्तै डिजेलको मूल्य १०२. ६४ रूपैयाँ पुगेको छ।

 

संघीय राजधानी नयाँ दिल्लीमा अहिले प्रति लिटर पेट्रोलको मूल्य १०३.४१ भारतीय रुपैयाँ पुगेको छ भने डिजेलको मूल्य प्रतिलिटर ९४.६७ भारतीय रूपैयाँ रहेको छ। यस्तै चेन्नईमा पेट्रोल १०८.९६ भारतीय रूपैयाँ र डिजेल ९९.०४ भारतीय रूपैयामा कारोबार भइरहेको छ। यस्तै कलकत्तामा पेट्रोलको मुल्य ११३.०३ भारतीय रूपैयाँ हुँदा डिजेल ९७.८२ भारतीय रूपैयाँ पुगेको छ। यसैबीच इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ।

 

नेपाल आयल निगमका अनुसार शुक्रबार पठाएको नयाँ मूल्य सूचीअनुसार लगातार बढिरहेको पेट्रोलको मूल्यमा सामान्य घटेको छ। नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्य १ रुपैयाँ ४८ पैसाले घटेर आएको छ। डिजेलको मूल्य भने प्रतिलिटर २ पैसाले बढेर आएको छ। यस्तै, मट्टितेलको मूल्य लिटरमा २२ रूपैयाँ १९ पैसाले बढेर आउँदा हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ २३ पैसाले बढेर आएको निगमले जनाएको छ । लगातार बढिरहेको डिजेल र पेट्रोलको मूल्यवृद्धि रोकिए पनि खाना पकाउने एलपी ग्यासको मूल्य भने सिलिन्डरमै २७३ रुपैयाँ ३८ पैसाले बढेर आएको निगमले जनाएको छ ।

 

निगमका अनुसार हाल पेट्रोल प्रतिलिटर २७ रुपैयाँ र डिजेलमा ३२ रुपैयाँ घाटा छ। मट्टितेलमा १ रुपैयाँ ९९ पैसा नाफा र हवाई इन्धनमा आन्तरिकतर्फ १२ रुपैयाँ ८४ पैसा तथा बाह्यतर्फ ६१ रुपैयाँ नाफा छ। यता, एलपी ग्यासमा ९५३ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ। हालको मूल्यसूची अनुसार १५ दिनमा १५ दिनमा ५ अर्ब २१ करोड घाटा हुने निगमको भनाइ छ। आईओसीले नयाँ मूल्यसूची दिएसँगै निगमको घाटा प्रतिमहिना १० अर्ब नाघेको छ । एजेन्सी