२०८१ आश्विन ६ , आइतवार

प्रधानमन्त्री देउवाको भारत भ्रमण : द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउन फलदायी

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको छिमेकी मित्रराष्ट्र भारत भ्रमण दुई देशबीच रहिआएको सहयोगात्मक सम्बन्ध अझ प्रगाढ बनाउन फलदायी भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ भारतको तीनदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कनुभएको हो ।

 

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले नयाँदिल्लीको हैदरावाद हाउसमा आफ्ना समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता गर्नुभएको थियो । सो अवसरमा प्रधानमन्त्री देउवा र मोदीबीच नेपाल–भारत सम्बन्धका बहुआयामिक क्षेत्रहरूमा छलफल भएको परराष्ट्रमन्त्री डा नारायण खड्काले जानकारी दिनुभयो । प्रधानमन्त्री देउवाको भ्रमणबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीलाई जानकारी गराउँदै परराष्ट्रमन्त्री डा खड्काले भन्नुभयो, “दुई देशबीचको सहयोगात्मक सम्बन्धलाई अझ प्रगाढ पार्ने सम्बन्धमा फलदायी छलफल तथा विचारहरूको आदानप्रदान भयो ।”

 

भ्रमणमा उच्च तहमा भ्रमणको आदानप्रदान गर्ने, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग विस्तार गर्ने, ऊर्जा क्षेत्रमा व्यापार तथा क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माणलाई प्राथमिकता दिने, सीमापार कनेक्टीभिटी बढाउन रेलवे सेवा सञ्चालन कार्य अगाडि बढाउने, पुल निर्माण तथा एकीकृत जाँच चौकी एवं आन्तरिक कन्टेनर डिपोजस्ता पूर्वाधार निर्माण कार्य अगाडि बढाउने, द्विपक्षीय व्यापार विस्तार गर्ने साथै रासायनिक मल उपलब्ध गराउनेलगायत विषयमा छलफल भएको थियो । नेपालको विकासमा भारतको सदा साथ र सहयोग रहेको र प्रधानमन्त्री मोदीले दुई देशबीच विकास एवं आर्थिक सहकार्यसम्बन्धी नेपालका प्रस्तावहरूलाई भारतले सकारात्मक रूपमा अगाडि बढाउने बताउनुभएको परराष्ट्रमन्त्री खड्काले जानकारी दिनुभयो ।

 

“भैरहवा र पोखरामा अवस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा सहज उडान सञ्चालनका लागि एवं नेपालको हवाई ट्राफिकलाई मध्यनजर गर्दै नेपाललाई महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप एयर इन्ट्री रुट उपलब्ध गराउने विषयमा छलफल गरिएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि अविलम्ब निअर बोर्डर अपरेसन सहमतिका लागि भारत सरकारसँग प्रधानमन्त्री देउवाले अनुरोध गर्नुभएको छ”, मन्त्री डा खड्काले भन्नुभयो ।

 

भ्रमणका क्रममा दुवै प्रधानमन्त्रीको समुपस्थितिमा जयनगर–जनकपुर रेल सेवाको सञ्चालन, भारतीय सहयोगमा नेपालमा निर्माण सम्पन्न १३२ केभी सोलु करिडोर ट्रान्समिसन लाइन, स्वास्थ्य क्षेत्रमा निर्माणाधीन १३२ हेल्थ पोष्ट निर्माण कार्य र नेपालमा एसबिआइ बैंकबाट जारी ‘रुपे’ कार्ड सञ्चालनको भर्चुअल माध्यमबाट उद्घाटन एवं प्रगति अवलोकन गरिएको थियो ।