२०८१ पुष १४ , आइतवार

श्रीलंकामा केन्द्रीय बैंकका गभर्नरले पनि दिए राजीनामा, सबै दललाई सरकारमा आउन राष्ट्रपतिको आह्वान

सुनाखरी न्युज/ काठमाडौं –

आफ्नो सरकारका सबै मन्त्रीले राजीनामा दिएपछि श्रीलंकाका राष्ट्रपति गोटवाया राजापाक्षेले सबै दललाई सरकारमा आउन आग्रह गरेका छन्।

 

समाचार संस्था एएफपीका अनुसार राष्ट्रपति गोटवाया राजापाक्षेले आफ्नो राजीनामा मागिरहेका विपक्षी दलहरूलाई सोमबार सरकारमा आउन आग्रह गरेका हुन्। उनले सबै राजनीतिक दललाई एकजुट भएर राष्ट्रिय संकटको समाधान खोज्न समेत अनुरोध गरेका छन्। राजापाक्षेको यो आह्वानलाई विपक्षी दलले कसरी लिन्छन् भन्ने प्रष्ट हुन बाँकी छ।

 

यसैबीच श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर अजित निर्बाद कबरालले सोमबार पदबाट राजीनामा दिएका छन्। सरकारका सबै मन्त्रीहरूले राजीनामा दिएको सन्दर्भमा आफूले पनि आज राष्ट्रपति राजापाक्षेलाई राजीनामा बुझाएको उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्। चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा राष्ट्रपति राजापाक्षेको सरकारमा रहेका सबै मन्त्रीहरूले राजीनामा दिएका थिए।

 

 

आइतबार राति मन्त्रीहरूले प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई राजीनामा बुझाएका हुन्। शनिबार संकटकाल घोषणा भएपछि शनिबार बेलुकादेखि कर्फ्यू लगाइएको थियो।  राजापाक्षे सरकारले श्रीलंकाको अर्थतन्त्रलाई राम्ररी चलाउन नसकेको भन्दै विपक्षी दल र प्रदर्शनकारीले नयाँ अन्तरिम सरकार बनाउनु पर्ने माग गरिरहेका छन्।  एजेन्सी