२०८१ मंसिर ११ , मंगलबार

एनआईसी एशियाको एजीएमबाट नयाँ सञ्चालक निर्वाचित, अध्यक्षमा तुलसीराम अग्रवाल चयन

सुनाखरी न्युज/ काठमाडौं । एनआईसी एशिया बैंकको २४औं वार्षिक साधारण सभा आइतबार काठमाडौंको भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ ।

 

उक्त सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । सो सभाले कात्तिक १० मा सम्पन्न सञ्चालक समितिको बैठकले बैंकको स्वतन्त्र सञ्चालकको पदमा बिजया स्वारलाई नियुक्त गर्ने निर्णय गरेकोमा उक्त निर्णयलाई अनुमोदन समेत गरेको छ ।

 

सोही सभाले संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने र सर्वसाधरण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने ३/३ जना गरी ६ जना सञ्चालक निर्विरोध निर्वाचित गरेको छ । संस्थापक शेयरधनीहरूको तर्पmबाट तुलसीराम अग्रवाल, त्रिलोक चन्द अग्रवाल र रामचन्द्र संघई निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै सर्वसाधारण शेयरधनीहरूको तर्पmबाट निकुञ्ज अग्रवाल, श्री गणेशमान श्रेष्ठ र आदित्य कुमार अग्रवाल निर्विरोध निर्वाचित भए ।

 

उक्त सभाले सञ्चालक समितिका निवर्तमान सदस्यद्वय राजेन्द्रप्रसाद अर्याल तथा विनोद कुमार प्याकुरेललाई बैंकको प्रगतिमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दैसफल कार्यकालको उच्च मूल्याङ्कन गरेको छ । साधारण सभा सम्पन्न भएपश्चात् बसेको नवनिर्वाचित सञ्चालक समितिको ५३७ औं बैंठकले सञ्चालक तुलसीराम अग्रवाललाई बैंकको सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन समेत गरेको छ ।