२०८१ माघ २ , बुधवार

निर्वाचन आचारसंहिता पूर्ण पालनामा प्रतिबद्धता जनाउँदै राजनीतिक दल

सुनाखरी न्युज/ काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका सम्बन्धमा राजनीतिक दलसँग निर्वाचन आचारसंहिताको पूर्णपालनाका लागि प्रतिबद्धता लिने भएको छ ।

 

आयोगले निर्वाचनमा भाग लिने ७९ दलसँग निर्वाचनका सम्बन्धमा हालसम्म भएका तयारीबारे जानकारी दिँदै निर्वाचन आचारसंहिताको पालनाका लागि प्रतिबद्धता लिन लागेको हो । निर्वाचनमा भाग लिने सबै राजनीतिक दलका अध्यक्ष वा नेतालाई मङ्गलबार हुने छलफलका लागि ११:३० बजे आमन्त्रण गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

 

विसं २०७४ को निर्वाचनमा पनि आयोगले राजनीतिक दलसँग निर्वाचन आचारसंहिता परिपालना गर्ने गराउने विषयमा प्रतिबद्धता लिएको थियो । आयोगले मुलुकका विभिन्न स्थानमा केही दिनअघि गरेको आचारसंहिता पालना र प्रभावकारी कार्यान्वयन विषयक कार्यक्रममा आचारसंहिताको पालनाका सम्बन्धमा कठोर हुन सुझाव दिइएको थियो ।

 

सुझावका आधारमा प्रतिबद्धतापत्र तयार गरी सवै राजनीतिक दलका शीर्ष नेताहरुबाट हस्ताक्षर गराउने आयोगले तयारी गरेको छ ।