२०८१ आश्विन १३ , आइतवार

नर्भिकले क्यान्सर उपचारसहितको अत्याधुनिक भवन बनाउने

सुनाखरी न्युज/ काठमाडौं । पब्लिक कम्पनीमा रुपान्तरण भएको नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवा बिस्तार गर्ने उद्देश्यले अत्याधुनिक भवन निर्माणको काम थाल्ने भएको छ ।

 

पूर्व घोषणाअनुसार नर्भिकले हालको अस्पतालको पार्किङस्थल क्षेत्रमा अत्याधुनिक सेवा र सुविधाले सम्पन्न ८ तले भवन निर्माणको काम थाल्ने भएको हो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार नर्भिकको २९ औं वार्षिकोत्सवको शुभमुहूर्त पारेर अत्याधुनिक भवन निर्माणको काम आगामी बैशाख १ गतेदेखि विधिवत रुपमा सुरु हुनेछ । सोमबार अस्पतालले भवन निर्माणका लागि रोशन कन्स्ट्रक्सन प्रालिसँग सम्झौता समेत गरेको छ ।

 

सम्झौतामा नर्भिक अस्पतालका तर्फबाट संचालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंह र निर्माण कम्पनीको तर्फबाट डाइरेक्टर अरविन्दकुमार झाले हस्ताक्षर गर्नुभएको छ । नयाँ भवन कम्प्रिहेन्सिभ क्यान्सर ट्रिटमेन्टसहितको आधुनिक र सुविधासम्पन्न हुने अध्यक्ष सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार १ लाख ६५ हजार स्क्वायर फिटमा आधुनिक भवन तयार हुनेछ । निर्माण सुरु भएको एक वर्षभित्रमा भवन तयार गरिसक्ने निर्माण कम्पनीले लक्ष्य लिएको छ ।