सुनाखरी न्युज/ काभ्रेपलाञ्चोक –
काभ्रेपलाञ्चोकको पनौतीमा आगामी चैत २८ गतेदेखि सुरु हुने ऐतिहासिक हरसिद्धि जात्राको तयारी तीव्र पारिएको छ । साठी वर्षदेखि पनौतीमा मनाउन थालिएको सो जात्रा विविध कारणले निरन्तरता दिन सकिएको थिएन ।
यही चैत २८ गतेदेखि २०७९ वैशाख १ गतेसम्म जात्रा सञ्चालन गर्ने तयारी भइरहेको हरसिद्धि जात्रा व्यवस्थापन समितिका संयोजक सुरेश सैँजूले बताए । जात्रा सहज ढङ्गले सञ्चालन गर्नका लागि सैँजूको अध्यक्षतामा समिति गठन गरिएको छ । विसं २०६६ देखि जनसहभागिताबाट रकम सङ्कलन गरी भव्यरूपमा जात्रा सञ्चालन गरिँदै आएको छ । अब कोष स्थापना गरी जात्रा सञ्चालन गरिने सैँजूको भनाइ छ । विसं २०६६ मा जात्रा आयोजना गर्न रु पाँच लाख खर्च भएको थियो ।
यसपटक रु १६ लाख खर्च हुने अनुमान गरिएको छ । जात्राका लागि पनौती नगरपालिकाले रु १५ लाख सहयोग गरेको छ । चैत २८ गते सांस्कृतिक परिक्रमा गरी चैत २९ र ३० गते हरसिद्धि डबली, पनौती बजारमा नाच प्रदर्शन गरिने छ । यस्तै वैशाख १ गते हरसिद्धि देवघरमा पूजापश्चात जात्रा सम्पन्न हुने छ । त्रिशक्ति हरसिद्धिको पनौतीमा बास बसुञ्जेल अन्य बाजा बजाउन नहुने र पूजामा कुखुराको मासु, अण्डा र लसुन मनाही गरिएको छ । करिब दुई हजार वर्ष पहिले हरसिद्धि नाच राजा विक्रमादित्यद्वारा सुरु गरिएको मानिन्छ ।
जात्रा ललितपुरको हरिसिद्धि गाउँस्थित महाजनहरूको विशेष तान्त्रिक विधिबाट चल्दै आएको छ । हरसिद्धि गाउँबाट बाहिर भने १२ वर्षमा एक पटक मात्र जात्रा लाग्छ । पूर्वमा नमोबुद्ध भगवान्, पश्चिममा फूलचोकी माई, उत्तरमा धनेश्वर महादेव र दक्षिणमा नारायणस्थानले घेरिएको पनौती उपत्यका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले भिन्न पहिचान भएको नगर हो । रासस