२०८१ पुष २४ , बुधवार

नवनियुक्त उद्योग मन्त्री बडू समक्ष महासंघको भेटवार्ता

सुनाखरी न्युज/ काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूलाई आज मन्त्रालयमा भेट गरी महासंघकोतर्फबाट बधाई एवं शुभकामना दिएको छ ।

 

सो अवसरमा महासंघकातर्फबाट लामो समयपश्चात उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रले नेतृत्व पाएकोमा खुशी प्रकट गर्दै विद्यमान चुनौतीपूर्ण घडीमा उद्योग व्यवसायका समस्या समाधानका लागि आग्रह गरियो । भेटवार्तामा महासंघका अध्यक्ष गोल्छाले तरलता अभाव, चर्को व्याजदर, विद्युत कटौती, इन्धनको चर्को मुल्य वृद्धिका कारण औद्योगिक व्यवसायिक लागत अत्याधिक बढेकाले निकास दिन नवनियुक्त मन्त्रीसमक्ष अनुरोध गर्नुभयो । उद्योगमन्त्रीबाट यस क्षेत्रको समग्र समाधानमा चालिने प्रयासमा महासंघले पूर्ण सहयोग गर्ने विश्वास पनि दिलाउनु भयो ।

 

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र सघाई, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, महानिर्देशक गोकर्णराज अवस्थीको सहभागिता रहेको सो अवसरमा मन्त्री बडूले निजी क्षेत्रसंग सहकार्य गर्न आफू सदैव तयार रहेको बताउनुु भयो । विद्यमान समस्याका विषयमा महासंघले राखेका चासोप्रति आफूपनि अत्यन्त गम्भीर रहेको र यस सम्बन्धमा आफूले छिट्टै बृहद छलफलको आयोजना गरी एउटा निकास दिन प्रयत्न गर्ने विश्वास मन्त्री बडूले दिलाउनु भयो ।