२०८१ आश्विन ५ , शनिवार

नुवाकोटको थान्सिङमा उदघाट्न भयो स्वास्थ्य भवन, पाण्डे परिवारले गरे दुई रोपनी जग्गा दान

सुनाखरी न्युज/ नुवाकोट । नुवाकोट जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ वितलबमा नागरिकहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच गराउने उद्देश्यले निर्माण गरिएको आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ। कार्यक्रमका प्रमुख अतिथी लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष हरिशरण लामिछानेले भवन उद्घाटन गरेका हुन् ।

भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले अब यस क्षेत्रका सबै स्थानियवासीले घरदैलोमै आधारभूत स्वास्थ्य सेवा पाउने बताए । स्थानीय सरकार पनि नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको बताउदै श्रेष्ठले पाण्डे परिवारले जग्गा प्रदान गरी महापुण्यको काम गरेकोमा धन्यवाद दिए। कार्यक्रममा स्वास्थ्य भवन निर्माणका लागि जग्गा दान गरेका पाण्डे परिवारलाई दोसल्ला ओढाएर सम्मान गरीएको थियो ।

बुबाको नाममा आमा भगवती पाण्डेले जग्गा दान र स्थानीयको स्वास्थ्य सेवा चालु भएकाले बुबाको सपना पुरा भएको पाण्डेले बताए । आज बुबा परलोकमा कहाँ हुनुहुन्छ थाहा छैन तर उहाँको सपना साकार भयो, नागरिकले स्वास्थ्य सेवा पाए त्यसमै खुशी लागेको कल्याणभक्त पाण्डेले बताए । कार्यक्रममा विभिन्न वडाका वडा प्रतिनिधि, गाउँपालिकाका स्वास्थ्य प्रतिनिधि, विद्यालयका शिक्षक प्रतिनिधि स्थानिय लगायतको सहभागिता रहेको थियो।