२०८१ पुष १२ , शुक्रवार

एनआईसी एशिया बैंकका सीईओ न्यौपाने ‘म्यानेजर अफ दि इयर’बाट सम्मानि

सुनाखरी न्युज/ काठमाडौं । व्यवस्थापनकर्मीहरुको सम्मानित एवं सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघले नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेलाई ‘म्यानेजर अफ दि इयर अवार्ड–२०२२’बाट सम्मानित गरेको छ।

 

राजधानीको याक एन्ड यति होटेलमा शनिबार संघले आयोजना गरेको समारोहमा न्यौपानेलाई उक्त अवार्डबाट सम्मानित गरेको हो। अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै न्यौपानेले उक्त अवार्ड एनआईसी एसियाका सम्पूर्ण सहकर्मीलाई समर्पण गर्दै यो अवार्डबाट सम्मानित गर्ने संघ, पुरस्कार छनौट समिति तथा संघका पदााधिकारीप्रति कृतज्ञता जाहेर गरे। न्यौपानेको ५ वर्षको नेतृत्व अवधिमा बैंकको कुल कर्जा करिब रु. ७३ अर्बबाट करिब ४ गुणाले वृद्धि भई रु. २७४ अर्ब पुगेको छ। त्यस्तै निक्षेप संकलनतर्फ पनि रु. ८६ अर्बबाट करिब ४ गुणाले वृद्धि भई रु. ३०० अर्ब पुगेको छ। यसका साथै बैंकको प्रतिसेयर आम्दानीतर्फ करिब २ गुणाले वृद्धि भई रु.४१.४३ पुगेको छ।

 

बैंकले न्यौपानेको नेतृत्वमा २०७८ पुस मसान्तसम्म अधिकांश वित्तीय सूचकमा उत्साहजनक नतिजा हासिल गरी समग्र बैंकिङ क्षेत्रमा नै बैंक सर्वोत्कृष्ट बन्न सफल भएको छ। न्यौपाने नेतृत्वमा बैंकले छोटो समयमै देशभर करिब ३६ लाखभन्दा बढी ग्राहकसँग शाखा सञ्जालका साथै आधुनिक डिजिटल च्यानलमार्फत सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंकिङको नाता स्थापित गर्न र विभिन्न प्रमुख वित्तीय तथा गैरवित्तीय सूचकांकहरुमा देशको सर्वोत्कृष्ट बैंकका रुपमा स्थापित गराउन सफल भएको छ।

 

न्यौपाने ‘प्रबल जनसेवा श्री (चतुर्थ)’, ‘कर्पोरेट सीईओ अफ दि इयर–२०७८’ र ग्लोबल बिजनेस आउटलुक–लन्डनबाटबाट बैंकिङ सीईओ अफ दि इयर–नेपाल २०२१’बाट समेत सम्मानित भइसकेका छन्।