२०८१ आश्विन ६ , आइतवार

विवेकशील साझा पार्टीको सुनवल नगरपालिकाको मेयरमा रामजी बाबु

सुनाखरी न्युज/ नवलपरासी । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा चुनाव प्रचारप्रसार सङ्गै राजनीतिक दलहरूले उम्मेदवार टुङ्गाउने दौडधुपमा लागिरहेका छन् । कतै उम्मेदवार छनोट प्रक्रियामा छ भने केहि ठाउँमा सर्वसम्मत रुपमा उम्मेदवार छनोट भएका छन् ।

 

यसै क्रममा पश्चिम् नवलपरासीको सुनवल नगरपालिकामा विवेकशील साझा पार्टीले नगर-प्रमुखकाे उम्मेदवारको रुपमा रामजी बाबू लाई सर्वसम्मत छनोट गरेको छ। विकल्प दिनुपर्छ त भन्ने तर विकल्पकाे रुपमा काेही पनि उठन नखाेज्नाले पनि जनताले विकल्पमा भाेट दिन नपाएकाे गुनासाे गरेपछी आफू विकल्पका रुपमा अगाडि सरेकाे २५ बर्षिय युवा नेता बाबुले बताए।

 

विवेकशील साझा पार्टीकाे नवलपरासी जिल्ला संयाेजक रहेका उनी प्रभावशाली युवा व्यवसायी समेत हुन । जिल्लामै सबैभन्दा ठुलाे स्टुडियाे संचालन गरेकाे र करिब १२/१३ जनालाई राेजगारी दिएका उनलाई विवेकशीलले नगर-प्रमुखको उम्मेदवारको रुपमा अगाडी सारेको हो। “हारजित प्राविधिक कुरा मात्र हाे। आफू ‘हार’ वा ‘शर्मनाक हार’ व्यहाेर्नुपरे पनि त्यसले आफुलाई कुनै फरक नपार्ने बरु आफ्नाे ‘हार’ लाई व्यवसायिक सफलताले प्रतिस्थापन गर्ने आँकलन गरेर नै मेयरकाे रुपमा उम्मेदवारी दिने हिम्मत गरेकाे उनले बताए।

 

“यो पनि एउटा साहसिक काम नै हो। पटक–पटक अब त विकल्प दिनुपर्छ है भन्ने नागरिकलाई विकल्प दिएको हुँ। यसपाली ‘मेयर’ को भोट ‘तराजु’ मा दिएर विकल्प रोज्ने कि फेरि ५ वर्षका लागि पछुताउने ? निर्णय तपाईकै हातमा छ” उनले भने। हरेक चुनावमा, जस्ताेसुकै व्यक्ती उठेपनि ठुला पार्टीकाे चुनाव चिन्हलाई मात्र भाेट हाल्ने परिपाटीले देशले काचुली फेर्न नसकेको र अब देश युवाको हातमा दिनुपर्ने भएकाले आफुले विवेकशील साझा पार्टि बाट उम्मेदवारी दिएको बाबु बताउछन ।

 

“यो समय समाजमा फरक सोच राख्ने व्यक्तिहरुको लागि पनि सर्वेक्षणको समय हो । यो समय मत मात्रै हाेइन मनको सर्वेक्षण गर्ने पनि समय हो,” उनले भने, “नतिजाले प्रभाव पार्ने कि नपार्ने फिल्डमा उत्रिएपछी बल्ल थाहा हुने कुराे हाे। तर फरक चाहनेहरुको लागि एउटा समय हो, अहिले नै याे गर्छु, त्याे गर्छु भनेर फुस्राे गफ लगाउनुभन्दा, सम्बन्धित क्षेत्रका विज्ञहरुसँग छलफल गरेर, शतप्रतिशत गर्न सकिने कामहरुकाे मात्र घाेषणापत्र लिएर जनतामाझ जाने र विलासी तथा भाैतिक निर्माणका अनावश्यक खर्च भारी कटाैती गरेर अत्यावश्यक पुर्वाधार निर्माण, निशुल्क शिक्षा, स्वास्थ्य तथा कृषी र उत्पादनमुलक कामका लागि ध्यान दिने र राेजगारीकाे अवसर सिर्जना गर्ने खालका कार्यक्रमहरु अगाडि बढाईने बताए।

सधै चुनावमा एकखाले लहर आउने र केन्द्रकाे नेता हेरेर, जनता त्यही लहरकाे पछाडी लाग्नुभन्दा स्थानिय स्तरमा साँच्चिकै काम गर्न सक्ने र खट्न सक्ने व्यक्तीलाई नै भाेट दिनुपर्ने भन्दै परिवर्तन गर्नका लागि ठुला ठुला आन्दाेलन वा विद्राेह गर्नुनपर्ने बरु यसपटक ‘मन’ र ‘मत’ परिवर्तन गरेमा साँच्चिकै परिवर्तन संभव भएकाे उनले बताए। सुनवलका नागरिकले चाहे समृद्दी यहिबेला संभव भएकाे बताउंदै “परिवर्तनकाे किस्सा मात्र सुन्ने कि, परिवर्तनकाे हिस्सा पनि बन्ने ?” निर्णय गर्ने जिम्मा तपाईकाे भन्दै उनले नागरिकलाई प्रश्न समेत गरेका छन।