सुनाखरी न्युज/ काठमाडौं ।
‘घुमी घुमी झर्यो, ओरालीको बाटो
तिमी आउनु त्यही बाटो, अरु आउनु साटो’
शनिबार गायक सुजन चापागाईंको युट्युब च्यानलबाट सार्वजनिक भएको म्युजिकल फिल्म ‘घुमी घुमी’का शब्द हुन् यी । ‘तीनपाते’बाट चिनिएका गायक सुजनका पछिल्ला गीत उतिकै मनप्रिय छन् । यतिबेला उनको स्वर र संगीतमा नयाँ गीत ‘घुमी घुमी’ युट्युवमा लोकप्रिय बन्दै गइरहेको छ । सुजन र गायिका शान्तिश्री परियारको युगल आवाजको गीतका शब्द यसरी बगेका छन्-
सुस्ताइ सुस्ताइ चढ्यो, उकालीको बाटो
बोकी आउनु एक मुठ्ठी माया, रित्तै आउनु साटो
शब्द गीतकार हर्क साउदका हुन् । १७ मिनेट २८ सेकेण्डको म्युजिकल फिल्मलाई निर्देशन गरेका छन्, नवीन चौहानले । कथा पनि उनै चौहानको हो । भिडियोमा अभिनेता विपिन कार्की र कलाकार अन्जना बराइलिको जबर्जस्त अभिनय छ । निर्देशक चौहानसँग विपिनको यो दोस्रो सहकार्य हो । यसअघि चौहानले निर्देशन गरेका गीतिभिडियो ‘बटौली’मा विपिनले अभिनय गरेका थिए ।
‘घुमी घुमी’ले नेपाली समुदायको कथालाई फरक ढंगले प्रस्तुत गरेको छ । बसाइँसराइको आन्तरिका पाटा र यसका प्रभावबारे केलाउँदै लोक संस्कृति, लोक विचार, लोक भावनाका कुराहरू म्युजिकल फिल्मले भन्छ । कथालाई बगाउने सुन्दर पाटो भनेको दुई पात्रबीचको प्रेम हो । प्रेमको सौन्दर्यलाई कथाले नजिकबाट नियाल्न प्रेरित गर्छ । ‘मलाई हाम्रो नेपाली समाजको दुई वटा कुराले बिथोली रहेको थियो । एक- आन्तरिक बसाइँसराइ अनि यसले निम्त्याएका भौतिक पाटा, सामाजिक पाटा अनि भावनात्मक पाटा । अर्कोचाहिँ हाम्रो लोक जीवन कतै अल्मलिए जस्तो, लोक भाषाले आफ्नो पहिचान गुमाउदै गरे जस्तो, चलचित्र, गीतहरुले पराई शैली अगाँली रहे जस्तो अनि लोक बिचार, लोक बुझाई ओझेल पर्दै गए जस्तो । केही खिप्न मन थियो , केही भन्न मन थियो । त्यो बेला म आफैँ आवाजको खोजीमा थिएँ,’ निर्देशक चौहान रचनागर्भबारे भन्छन्, ‘हर्क दाजु र सुजन भाइले दोस्रो लकडाउनमा यो लोक गीतको पहिलो ड्राफ्ट सुनाउँदा मैले सोही आवाज भेटे झैँ भयो अनि हामी लगायत हाम्रो मन मीत समूह लोक साङिगितिक यात्रा – घुमी घुमीको यात्रामा निस्कियौ ।’ भिडियो हेर्दा कतिपयलाई लाग्न सक्छ- अलि लाम्चो लाम्चो, केही नमिलेको हो कि जस्तो !
निर्देशक चौहानका अनुसार यो कुनै प्राविधिक त्रुटि होइन । यसपालि निर्माण टिमले ‘एनामोर्फिक लेन्स’ को प्रयोग गरेकाले त्यस्तो देखिएको हो । नेपालमा यो लेन्सको प्रयोग हुने गरेको छैन । ‘बडो मिहिनेतका साथ भारतबाट मगाइएको थियो। त्यसैले यसको इमेजमा हाम्रो बानी नबसेको कारण अलि अनौठो हुनु स्वभाविक हो । यो हेर्दै गए पश्चात् सामान्य लागि हाल्छ,’ निर्देशक चौहान भन्छन् । म्युजिकल फिल्ममा विपिन र अञ्जनासँगै सम्रान्त थापा र हर्क साउदको पनि अभिनय छ । गीतलाई गंगा थापाले एरेन्ज तथा पार्श्व संगीत गरेका हुन् भने मिक्सिङ्ग मास्टरिङ्ग कोबिद बज्रले गरेका हुन्। भिडियोलाई महेश पौडेलले खिचेका छन् भने सुरज पौडेलले सम्पादन गरेका छन् ।