२०८१ आश्विन ६ , आइतवार

गठबन्धनका उम्मेदवारलाई जिताउन पाँच दलीय मोर्चाको संयुक्त अपिल

सुनाखरी न्युज/ काठमाडौं । सत्तारुढ दलहरुको पाँचदलीय गठबन्धनले आगामी निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन सार्वजनिक अपिल गरेको छ।

 

आज बिहान बसेको दलहरुको बैठकले स्थानीय तहको आगामी निर्वाचनमा तालमेल गर्ने घोषणा गर्दै गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता अशोक कुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलद्वारा हस्ताक्षरित अपिलमा आगामी निर्वाचनमा आपसी सहकार्य र परस्पर सहयोगका लागि पाँचदलका नेता कार्यकर्तालाई आह्वान गरिएको छ।

 

सार्वजनिक अपिलमा लोकतन्त्रिक परिवर्तनलाई उल्टाउने दुस्प्रयास भएको भन्दै परिवर्तन विरोधी र प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन पाँच दलीय गठबन्धन बनेको दाबी गरिएको छ । ‘पाँच दलको यो ऐक्यबद्धता नेपालमा लोकतन्त्र र लोकतन्त्रका मूल्यमा आधारित समाजवादको रक्षा गर्दै नेपाल राष्ट्रको स्वाधिनता, नेपाली जनताको स्वतन्त्रता र उन्नतिका लागि स्थानीय वासिन्दाहरुको कठिनाई हटाउँदै तिनका आवश्यकता परिपूर्ति गर्न आगामी स्थानीय निर्वाचनमा पनि तालमेल गरेर अगाडि बढ्ने घोषणा गर्दछौँ।’ अपिलमा भनिएको छ।

 

अपिलमा पछिल्ला परिवर्तनलाई आत्मसाथ गर्न नसक्ने र नचाहने कतिपय शक्तिहरुले यो परिवर्तनविरुद्ध अझै पनि षड्यन्त्र गरिरहेको भन्दै संसदमाथिको निरन्तर प्रहार, अदालतमाथि खेलवाड तथा संवैधानिक अंगहरुमा पैदा गराइएको बेथितिले यस्तो कुरा स्पष्ट पारेको दाबी गरिएको छ। बैठकपछि बोल्दै कांग्रेस नेता तथा नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले तालमेलको मोडालिटीबारे निर्णय गर्न भोलि अपरान्ह चार बजे फेरि बैठक बस्ने जानकारी दिए।