२०८१ आश्विन १४ , सोमवार

भ्रष्टाचार आरोपमा १४ जना विरुद्ध मुद्दा दायर

सुनाखरी न्युज/ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले मंगलबार उनीहरुलाई विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

 

आयोगका अनुसार क्षेत्रीय अनुसन्धान केन्द्र तरहरा सुनसरीको बंङ्गुर अनुसन्धान इकाईका तत्कालीन इकाई प्रमुख हाल अवकाश प्राप्त रामदेव पण्डित, सोहि ठाउँका तत्कालीन क्षेत्रीय अनुसन्धान केन्द्रका निर्देशक कृष्णहरि श्रेष्ठ र लेखा एवं प्राविधिक अधिकृतसहित ७ जना विरुद्ध मुद्दा दायर भएको हो । उनीहरुले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आयोगको आरोप रहेको छ ।

त्यस्तै, श्री प्राथमिक विद्यालय नरसिंह ५ सुनसरीका पूर्व प्रधानाध्यापक सिद्धिनाथ लाल दाससहित ३ जना विरुद्ध मुद्दा दायर गरिएको छ । उनीहरुले सरकारी कागजात सच्याउने एवं सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप–पत्रमा उल्लेख छ । त्यसैगरि, चन्दननाथ मावि जुम्लामा कार्यरत तत्कालीन शिक्षक कलानन्द माझी, केन्द्राध्यक्ष र परीक्षार्थीसहित ४ जना विरुद्ध पनि आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले सरकारी कागजात सच्याउने कार्य गरी भ्रष्टाचार गरेको आयोगको आरोप रहेको छ ।

 

क्षेत्रीय अनुसन्धान केन्द्र, तरहरा, सुनसरीको बंङ्गुर अनुसन्धान इकाईका तत्कालीन इकाई प्रमुख हाल अवकाश प्राप्त रामदेव पण्डित, तत्कालीन क्षेत्रीय अनुसन्धान केन्द्र, तरहरा, सुनसरीका निर्देशक कृष्णहरि श्रेष्ठ, लेखा एवं प्राविधिक अधिकृतसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

 

प्रेस विज्ञप्ति

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, तरहरा, सुनसरी अन्तर्गत अनियमितता गरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा क्षेत्रीय अनुसन्धान केन्द्र, बंङ्गुर अनुसन्धान इकाईमा इकाई प्रमुखको रुपमा कार्यरत रामदेव पण्डित, सहायक कर्मचारीहरुमा शकुन्तला राई र प्रकाश कुमार यादव तथा बंङ्गुर बेच्नका लागि प्रयोग हुने Culling Card मा हस्ताक्षर गर्ने अन्य कर्मचारीहरु लेखा अधिकृत सोभितलाल यादव, लेखा अधिकृत तिलक राजबंशी, स्टोर प्रमुख तथा प्रशासन प्रमुख कृष्ण प्रसाद पोखरेल र क्षेत्रीय निर्देशक हरि कृष्ण श्रेष्ठको मिलेमतोमा बङ्गुर बिक्री गर्दा हुनुपर्ने औसत र न्यूनतम तौलभन्दा पनि कम तौल देखाई बिक्री गरी रु.७,००,०००।- हिनामिना गरी आफूलाई फाइदा र नेपाल सरकारलाई नोक्सानी गरेको देखिन आएकोले निजहरुलाई देहायबमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । क्रमश……

 

श्याम प्रसाद भण्डारी