२०८१ आश्विन १४ , सोमवार

“नयाँ बर्ष आओस्”

उत्तम विचार ।
[भुजङ्ग प्रयात छन्द]

सयौँ भोकमा छन् सयौँ प्यासमा छन्
पुर्‍यायौ कहाँ के? अझै आसमा छन् ।
लिई अन्न दाना नयाँ बर्ष आओस्
मिलोस् टन्न खाना नयाँ बर्ष आओस् ।।१।

 

यता टाल्छु भन्दा उता भ्वाङ पर्छ
नयाँ भन्नु मात्रै पुरानै ठहर्छ ।
विना क्यै बहाना नयाँ बर्ष आओस्
बनी दिव्य गाना नयाँ बर्ष आओस् ।।२।

 

भयो जिन्दगानी पढौँ पढ्न गाह्रो
चढौँ माथ अग्लो सधैँ अड्न गाह्रो ।
खुसी टन्न बोकी नयाँ हर्ष ल्याओस्
बुझी यो जमाना नयाँ बर्ष आओस् ।।३।

 

हुँदा साथ बर्को म छोप्नेछु लाज
न ता चिम्म आँखा गरोस् यो समाज ।
लिई वस्त्र नाना नयाँ बर्ष आओस्
लगाई निशाना नयाँ बर्ष आओस् ।।४।

 

नहोस् दूर बस्ती बनोस् राजधानी
नयाँ घाम बोकी उदाओस् बिहानी ।
नरोजी घराना नयाँ बर्ष आओस्
र छाएर छाना नयाँ बर्ष आओस् ।।५।