२०८१ पुष २९ , सोमवार

सेयर कारोबार अवधिभर फ्लोरसिट हेर्न नपाइने, ब्रोकर डिस्प्ले पनि खुला गर्न बोर्डको निर्देशन

सुनाखरी न्युज/ काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर कोरोबार अवधिभर फ्लोरसिट हेर्न नपाउने व्यवस्था गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको छ ।

 

हाल कारोबार समयमा नै फ्लोर सिटमार्फत कारोबारमा संलग्न ब्रोकर तथा धितोपत्र व्यापारीको क्रम संख्या खुल्ने विवरण प्रवाह हुने गरेको छ । उक्त विवरण हटाउन सरोकारवाला पक्षबाट सुझाव तथा गुनासो आएपछि कारोबार सकिएपछि मात्र फ्लोरसिट हेर्न पाउने व्यवस्था गर्न नेप्सेलाई पत्राचार गरिएको बोर्डले जनाएको छ । यता, बोर्डले कोभिड १९ को न्यूनीकरणका लागि तोकिएको सुरक्षा व्यवस्थाहरुको पालना गरी ‘स्क्रिन एग्जिविसन रुम’ (सेयर कारोबार हेर्ने डिस्प्ले) सुचारु गर्न पनि ब्रोकरहरुलाई निर्देशन दिएको छ ।

 

लगानीकर्ताले अब पुनः ब्रोकर कार्यालयमा बसेर सेयर कारोबार विवरण हेर्न सक्नेछन् । कोरोना महामारी फैलिएपछि भिडभाड नहोस् भन्ने उद्देश्यसहित ब्रोकरहरुको स्क्रिन एग्जिविसन कक्ष बन्द रहँदै आएको थियो ।

 

धितोपत्र दलाल व्यवसायीहरुको Screen Exhibition Room खोल्ने तथा फ्लोर सिटमा धितोपत्र व्यवसायीको विवरण सम्बन्धमा ।

विश्वव्यापी महामारीको रुप लिएको कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै धितोपत्र दलाल व्यवसायीको कार्यालयमा भिडभाड नहोस् भन्ने अभिप्रायले स्क्रिन एग्जिविशन कक्ष (Screen Exhibition Room) बन्द भइरहेकोमा हाल कोरोना भाइरसको संक्रमण दर न्यून भई नेपाल सरकारले कोरोना भाइरसको जोखिमको समयमा पूर्ण वा आंशिक रुपमा बन्द गरेका अधिकांश क्षेत्रमा प्रतिबन्धात्मक व्यवस्थालाई खुकुलो गरिसकेको । यसै सन्दर्भमा कोभिड १९ को न्यूनीकरणका लागि तोकिएको सुरक्षा व्यवस्थाहरुको पालना गर्ने/गराउने गरी धितोपत्र दलाल व्यवसायीहरुको Screen Exhibition Room सुचारु गर्न बोर्डले सम्पूर्ण धितोपत्र दलाल व्यवसायीहरुलाई निर्देशन दिएको छ ।

 

 

त्यस्तै, कारोवार समयमा नै फ्लोर सिटमार्फत् कारोवारमा संलग्न धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको क्रम संख्या खुल्ने विवरण प्रवाह हुने गरेकोमा उक्त विवरण हटाउन सरोकारवाला पक्षबाट बोर्डमा सुझाव तथा गुनासो प्राप्त भएकोले धितोपत्र बजार संचालन नियमावली, २०६४ को नियम २७ को उपनियम (४) को प्रतिकुल नहुने गरी उक्त विवरण कारोवार समयपश्चात् प्रवाह गर्ने व्यवस्था गर्न बोर्डले नेप्सेलाई पत्राचार गरेको छ ।