२०८१ आश्विन १४ , सोमवार

उपत्यकासहित बाग्मती प्रदेशमा आजदेखि बढ्यो सार्वजनिक बसको भाडा

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा आज बिहीबारदेखि सार्वजनिक सवारी साधनको भाडा बढेको छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आजदेखि लागू हुने गरी सार्वजनिक सवारी साधानको भाडा बढाएको हो ।

 

यातायात व्यवस्था मन्त्रालयले गत चैत २४ गते नै भाडा वृद्धि गर्ने निर्णय गरेको थियो । छोटो दूरीको भाडा दरमा पाँच किलोमिटरसम्म भाडा वृद्धि हुने छैन । पाँच किलोमिटरदेखि २० किलोमिटरसम्मको दूरी तय गर्दा भने २ देखि ३ रुपैयाँसम्म बढी भाडा तिर्नुपर्ने छ । उपत्यकाको शहरी क्षेत्रमा चढ्ने वित्तिकै २० रुपैयाँ भाडा तिर्नुपर्ने छ भने पाँचदेखि १० किलोमिटरमा २५ रुपैयाँ, १५ किलोमिटरमा ३० रुपैयाँ, २० किलोमिटरमा ३३ र २० किलोमिटर भन्दा बढीको यात्रामा ३८ रुपैयाँ तिर्नुपर्ने छ ।

 

यस्तै, ट्याक्सीको भाडा पनि बढाएर प्रति २ सय मिटरमा १० रुपैयाँ भाडा लाग्ने बनाइएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट १ रुपैयाँ २० पैसा तोकिएको छ भने बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ । पेट्रोलिय पदार्थको मूल्यमा ५ प्रतिशतको घटबढ भए सवारी साधनको भाडा समायोजन गर्ने गरिएको छ ।