२०८१ आश्विन ६ , आइतवार

आजदेखि नयाँ वर्ष २०७९ सुरू, चुनावी वर्षको स्वागत

सुनाखरी न्युज/ काठमाडौं । विक्रम संवतको नयाँ वर्ष २०७९ आजदेखि सुरू भएको छ । यो सम्वत् सूर्य मेष राशीमा प्रवेश गरेको दिन अर्थात् बैशाख १ गतेदेखि प्रारम्भ हुन्छ । त्यसैले आजको दिनलाई मेष संक्रान्ति पनि भनिन्छ ।

 

नेपालमा विक्रम संवत्ले सांस्कृतिक र औपचारिक मान्यता पाएको छ । बैशाख १ गतेबाट वर्ष परिवर्तन भएको मान्ने चलन नेपालमा मात्र सीमित छैन । भारत, बंगलादेश, र श्रीलंकासहित एशियाका केही अन्य देशमा पनि यही दिन नयाँ वर्ष मनाइन्छ ।

 

भारतको उज्जैनका पौराणिक राजा विक्रमादित्यले चलाएको सम्वत्को रुपमा विक्रम सम्वत्लाई चिनिन्छ । विक्रम सम्वत् अंग्रेजी सम्वत् ‘ए.डी’ भन्दा ५६ दशमलव ७ वर्षले अगाडि छ । त्यसैगरी, यो नेपाल सम्वत् भन्दा ९ सय ३६ वर्ष ६ महिना अगाडि छ भने शक् सम्वत् भन्दा १३५ वर्ष अगाडि, कली सम्वत् भन्दा ३०४४ वर्ष पछाडि र हिजरी सम्वत् भन्दा ६३६ वर्ष अगाडि छ ।

 

विक्रम सम्वत्का समग्र तिथि मितिहरू पृथ्वी र चन्द्रमाबीचको कोण अनि अवस्थितिमा फरक पर्दछन्, त्यसैले यसलाई चन्द्रमास पनि भनिन्छ । नयाँ वर्षको दिन भक्तपुरमा बिस्काः जात्रा, तराईमा सिरुवा पर्व एवं जुडशीतल पर्व मनाउने गरिन्छ । यसपटक नेपालीहरुले वर्ष २०७८ लाई राजनीतिक अस्थिरता एवं ध्रुवीकरणको वर्षको रुपमा बिदाई गर्दै नयाँ वर्षलाई चुनावी वर्ष एवं कोरोनाकालबाट मुक्तिको वर्षको रुपमा स्वागत गरेका छन् ।