२०८१ आश्विन ५ , शनिवार

फोहोर वर्गीकरण नगरे पाँच सय जरिवाना

सुनाखरी न्युज/ काठमाडौं –

काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रह गरेको छ। वर्गीकरण नगरिएका फोहोर, फोहोर बोक्ने गाडीसम्म ल्याए पुनःघरमा नै फर्काएर कारबाहीस्वरूप प्रतिव्यक्ति ५०० रुपैयाँ जरिवानासमेत गर्ने जनाइएको छ।

 

कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार यसरी छुट्याइएको फोहोर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहोर लिने गाडी पनि फरक/फरक दिन आउने भएकाले सोहीअनुरूप व्यवस्थापन गर्नुपर्ने हुन्छ। कामपाको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ (थ) तथा फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी सजाय गर्ने पनि कामपाले जनाएको छ।

 

पछिल्लो समय कामपालगायत काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन कार्य जटिल बन्दै आएको र नुवाकोटको सिसडोल भरिनाका साथै उक्त स्थानसम्म जाने सडकमा स्थानीय बासिन्दाले समय/समयमा अवरोध गर्दा गत फागुन महिनामा १९ र चैत मा १२ दिन उपत्यकाको फोहोर सडकमा नै थुप्रिएको थियो।  रासस