२०८१ आश्विन १४ , सोमवार

इन्धनका लागि ‘गुइँठा’ जोहो गर्दै महोत्तरीका गृहिणी

सुनाखरी न्युज/ महोत्तरी  –

जिल्लाका ग्रामीण भेगमा गृहिणी इन्धनका लागि ‘गुइँठा’ (गाईभैँसीको गोबर पथारेर बनाइने दाउरा) को जोहोमा छन् । गाईवस्तु पाल्नेले आफ्नै गोठको र नपाल्नेले चरनका चौरमा गोबर खोज्न निस्कनु यहाँका गृहिणीको दैनिकी नै हो ।

 

गोबर पथारेर फरक-फरक आकारका इन्धन प्रयोजनका ‘गुइँठा’, ‘चिपरी’ र ‘गोरहा’ बनाइन्छन् । प्रायःजसो जिल्लाका सबैजसो स्थानीय तहका ग्रामीण बस्तीमा अहिले आम महिला ढकी (बाँसको चोयाले बुनिएको खास भाँडो, ‘छिटी’ पनि भनिन्छ) बोकेर गोबर सङ्कलन गर्न र घरघरै ‘गुइँठा’ बनाउन व्यस्त देखिँदा छन् । आफ्ना वस्तुभाउ नहुने गृहिणी यसरी गोबरको खोजमा सडक, चौरमा छिटी बोकेर निस्कन्छन् । जिल्लाका १५ स्थानीय तहमध्ये १० नगरपालिकामा पनि धेरैजसो ग्रामीण बस्ती नै रहेका हुँदा सबैजसो भेगका गृहिणीको ‘गुइँठा’ बनाउने, सुकाउने र चाङ लगाएर राख्ने काम देखिएको हो ।

 

‘के गर्नु पकाएर खानु परिहाल्छ’, धमाधम गोबरको चिपरी पथार्न व्यस्त देखिएकी बर्दिवास नगरपालिका-९ पशुपतिनगरकी गृहिणी शैलदेवी महतो भन्छिन्, ‘अहिले अन्य खेती कामको व्यस्तता नभएका बेला बर्खाभरिलाई चाहिने ‘चिपरी’ पथार्दै छु ।’ जिल्लामा खाना पकाउने इन्धनमा बाक्लै प्रयोग हुने गोबरको चिपरी, गुइँठा र गोरहामा आगो ननिभ्ने र खानेकुरा पनि स्वादिलो हुने आम विश्वास छ । योभन्दा पनि इन्धनका लागि अन्य साधनको जोहो गर्न आर्थिक अवस्थाले नसक्नेहरूका लागि त गोबरको जोहो र गुइँठा पथार्ने काम अनिवार्य नै बनेको छ ।

 

त्यसो त स्वास्थ्यकर्मी ‘गुइठा’ मा पकाइएको खाना स्वस्थ्यकर हुने बताउँछिन् ।जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झा गोबरका ‘चिपरी’ वा ‘गुइँठा’मा पकाइएको खाना मौलिक स्वादको हुने र स्वस्थ्यकर पनि हुने बताउँछन् । यहाँका महिला अहिले धेरैजसो कृषि कार्यबाट अलि फुर्सदिलो समय हुँदा वर्षभरिकै इन्धन जम्मा गर्न ‘चिपरी’, ‘गुइँठा’ र ‘गोरहा’ पथार्ने (गोबरको ‘गुइँठा’, ‘चिपरी’ र ‘गोरहा’ बनाउने कामलाई ‘पाथ्ने’ वा ‘पथार्ने’ भनिन्छ) गरेको बताउँछन् । घरमा पशुवस्तु हुनेले आफ्नै गोठको गोबर जम्मा गरेर कुरी (थुप्रो) लगाउने र नहुनेले सडक र चरन क्षेत्रसम्म पुगेर गोबर सङ्कलन गरेर घरवरपर ल्याएर थुपार्ने महोत्तरी मात्र नभएर मध्यपूर्वी तराईकै आम कुरो मानिन्छ ।

 

यसरी दुई-तीन दिन लगाएर थुपारिएको गोबर अर्को दुई-तीन दिन लगाएर ‘गुइँठा’, ‘चिपरी’ र ‘गोरहा’ पाथ्ने गरिन्छ । सामान्यतया गोबरलाई चाक्लो पारेर घरका भित्ता–भित्तामा पथारिनेलाई ‘चिपरी’, भित्रपट्टि मसिना झिक्रा हालेर लामो डोलो बनाइने साना आकारका लाई ‘गुइँठा’ र भित्रपट्टि पराल हालेर पथारिने ठूला आकारका लाई ‘गोरहा’ भनिन्छ । यद्यपि सगोलमाभन्दा यसलाई ‘गुइँठा’ नै भनिन्छ ।

 

यसरी बनाइएका ‘गुइँठा’ घाम राम्रो लाग्ने ठाउँमा चाङ लगाएर राखिन्छ । यस्तो चाङ एक महिनाजति घामले सुकेपछि ‘चिपरी’ र ‘गुइँठा’ पानी नचुहिने, नभिज्ने ठाउँमा थाक बनाएर राखेपछि आवश्यकतानुसार खाना पकाउन प्रयोग गरिन्छ । खासगरी वन क्षेत्र टाढा भएका र घरको अर्थावस्थाले ग्यास किन्ने र प्रयोग गर्ने आर्थिक हैसियत नभएका घरमा इन्धनका लागि ‘चिपरी’ र ‘गुइँठा’ बालेर खाना पकाइन्छ ।मध्यपूर्वी तराई क्षेत्रमा घरपालुवा पशुवस्तु (गाई, गोरु, भैँसी र राँगा) को गोबर इन्धनमा खर्च हुने भएपछि जग्गा–जमिनमा उत्पादन भने कम हुने र रासायनिक मलको प्रयोग बढेको पाका किसान बताउँछन् ।

 

‘खेतबारीमा हाल्नुपर्ने कम्पोष्ट मल बनाइने गोबर दाउरामा प्रयोग गरिन्छ’, महोत्तरीकै भङ्गाहा नगरपालिका–६ हतिसर्वा पर्साका ७० वर्षीय किसान दीपलालसिंह थारू भन्छन्, ‘खेतबारी मलिलो बनाउने कम्पोष्ट मल नभएपछि उत्पादन निकै घटेको छ ।’ अब इन्धनमा गोबरको विकल्प नखोजिने हो भने जग्गाको उर्वराशक्ति ह्रास भएर यहाँका जग्गा ढड्यान (उब्जा नहुने रुखो जग्गा) बन्ने किसान बताउँछन् । सरकारले सर्वसाधारण किसानलाई ग्यास चुलो जडान गर्न उत्प्रेरित गर्न र गरिब जनतासम्म वन सम्पदा (दाउरा) मा पहुँच बढाउन पहलकदमी लिनुपर्ने उनीहरुको भनाइ छ ।  रासस