२०८१ आश्विन ७ , सोमवार

मतदाता शिक्षा घरदैलो नहुने, सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोग हुने

सुनाखरी न्युज/ काठमाडौं। निर्वाचन आयोगले पालिका चुनावमा घर–घरमा पुगेर मतदाता शिक्षा नदिने भएको छ। मतदाता शिक्षाको परम्परागत पद्धति खर्चिलो र अपेक्षा अनुसार प्रभावकारी पनि हुन नसकेको निष्कर्षसहित यसपटक मतदाता शिक्षाको घरदैलो कार्यक्रम परिमार्जन गरेको आयोगले जनाएको छ ।

 

निर्वाचन आयोगको प्रगति प्रतिवेदनमाथि विभिन्न समीक्षा बैठक तथा राज्य व्यवस्था समितिको बैठकमा समेत मतदाता शिक्षा त्यति प्रभावकारी नभएको, तोकिएका कतिपय मतदाता शिक्षा स्वयम्सेवक सबै ठाउँमा परिचालित नभएका, निश्पक्ष मतदाता शिक्षा प्रदान गर्न नसकेको जस्ता पृष्ठपोषण प्राप्त भएका कारण कार्यक्रम परिमार्जन गरेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । उनले भने,‘घरघरमा पुगेर मतदातालाई शिक्षा दिँदा राम्रो भयो भन्ने भन्दा पनि धेरै नकारात्मक टिकाटिप्पणी आएपछि यसपालि रोकिएको हो ।’ प्राप्त सुझाव र प्रतिक्रियापछि आयोगले मतदाता शिक्षामा थप कढाइ या परिमार्जन गर्नुपर्ने दुई वटा मात्रै विकल्प भएकाले परिमार्जन गरेको उनको भनाइ छ । घरघरमा र टोल टोलमा पुग्न हुने खर्च, आवश्यक बजेट र स्रोत साधन पनि कमी रहेको आयोगले जनाएको छ ।

 

२०७४ सालको पालिका चुनावमा घरदैलोका लागि २० हजार स्वयम्सेवक खटाइएको थियो । घरदैलोको सट्टामा आयोगले यसपालि मतदान स्थलमा दुई दिन भोट खसाल्ने तरिका सिकाउने तयारी गरेको छ । त्यसका लागि वैशाख २९ र ३० गते हरेक मतदान स्थलमा दुईरदुई जना स्वयम्सेवक खटिनेछन् । मतदान स्थलमा मतदाता सूचना केन्द्र पनि स्थापना हुनेछ । २९ गते मतदाता परिचय पत्र वितरण गर्दा र ३० गते भोट खसाल्न आउने कसैलाई अलमल भएमा नमुना मतपत्र देखाएर सहजीकरण गरिने सहप्रवक्ता अर्यालले बताए । ७७ वटै जिल्लामा नमुना मतदानका लागि मतपत्र पुगिसकेको छ । मतपत्रमा विभिन्न दलका चुनाव चिह्न रहन्छन् । आयोगले डमी अर्थात नमुना मतपत्रका आधारमा मतदाता शिक्षा दिन्छ । तर दलहरुको गठबन्धन र एउटै पार्टीको चुनाव चिह्नबाट अरु दलका उम्मेदवार उठ्ने भएकाले पनि मत बदर हुने जोखिम धेरै छ । २०७४ सालमा भएको पालिका चुनावमा झन्डै ५ प्रतिशत मत बदर भएको थियो ।

 

आयोगले पर्चा पम्पलेट, सञ्चारमाध्यम, सामाजिक सञ्जाल, प्रविधिको प्रयोग गरेर पनि मतदाता शिक्षा कार्यक्रम तत्काल सुरु गर्ने जनाएको छ । ‘विद्युतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालको अधिकतम प्रयोग गरिनेछ’ आयोगका सहप्रवक्ता अर्यालले भने,‘मतदाता शिक्षालाई सकेसम्म प्रभावकारी बनाइनेछ । त्यसबाट बदर मत प्रतिशत पक्कै घट्नेछ । कोभिड महामारीमा सूचना प्रवाह भएजस्तै मतदानमा सहभागी हुन मोबाइलमा रिङ्ग ब्याक टोन पनि राखिनेछ ।’ राजनीतिक दल र कार्यकर्ताले पनि मत माग्न जाँदा मतदातालाई सिकाउने हुँदा अलि सहज हुने आयोगले जनाएको छ । पालिका चुनाव आउन अब २६ दिन मात्रै बाँकी छ।