२०८१ आश्विन ७ , सोमवार

व्यवस्था वदलियो, अवस्था वदल्न माओवादीमा मतदान : नेता थापा

सुनाखरी न्युज/ स्याङ्जा ।  नेकपा (माओवादी केन्द्र) का नेता तथा गण्डकी प्रदेश सरकारका वन, वातावरण तथा भू संरक्षण मन्त्री दीपक थापाले परिवर्तनलाई सँस्थागत गर्न र वदलिएको व्यवस्था बमोजिम अवस्था बदल्न माओवादी लगायतका गठबन्धनमा आवद्ध दलले स्थानीय निर्वाचन जित्नुपर्ने बताउनुभएको छ । उहाँले जनताको दुःखले ल्याएको परिवर्तन अझै पनि प्रतिगमनकारी शक्तिहरुबाट खतरामा रहेको जनाउँदै जनता चनाखो हुनुपर्ने पनि बताउनुभयो ।

 

माओवादीको युवा संगठन योङ कम्युनिष्ट लीग (वाईसिएल) नेपाल गल्याङ् नगर कमिटिको भेलालाई सम्बोधन गर्दै उहाँले स्थानीय तहको निर्वाचनले देश र जनताको भविष्य कोर्ने बताउँदै यो चुनावमा जनताले असली देशभक्त र विकास प्रेमी पार्टी तथा उम्मेदवारलाई निर्वाचित गर्नुपर्ने बताउनुभयो । निर्वाचन नजिकिँदै जाँदा प्रगतिशित, लोकतान्त्रिक शक्ति र प्रतिगमनकार शक्तिबिच तीब्र धु्रवीकरण भईरहेको बताउँदै उहाँले प्रतिगमनकारी शक्तिले पराजय नभोगेसमम देशको अवस्थामा परिवर्तन हुन नसक्ने दावी समेत गर्नुभयो ।

 

अहिलेको लडाईं परिवर्तनलाई सँस्थागत गर्ने र परिवर्तनलाई उल्ट्याउन खोज्नेबीचको भएको भन्दै नेता थापाले कुन बाटो रोज्ने हो सचेत जनताले अब सोच्ने बेला आएको बताउनुभयो । पार्टीका गल्याङ् नगरपालिका ईन्चार्ज लोकेन्द्र तराङ् थापाले अहिलेको अवस्था निम्त्याउनुभमा मुख्यतया नेकपा एमाले र त्यसका अध्यक्ष केपि शर्मा ओली भएको आरोप लगाउँदै अब जनताले आफ्नो सच्चा दल र सच्चा नेता को हो भन्ने छुट्टाउने बेला भएको बताउनुभयो । हजारौंको बलिदान र त्यागले आएको व्यवस्थालाई निकम्मा बनाएर आफु सर्वशक्तिमान हुने ओलीको सपना नेपालका दलहरुले विफल तुल्याईदिएको भन्दै उहाँले अब एमालेलाई स्थानीय तहमा लुटपाट गर्नबाट बञ्चित गर्ने जिम्मा जनताको हातमा आएको स्पष्ट पार्नुभयो ।

 

कार्यक्रममा नेकपा माओवादी केन्द्र स्थाङ्जाका अध्यक्ष प्रकाश न्यौपाने, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का केन्द्रीय सदस्य कल्पना अर्याल नगर कमिटि अध्यक्ष सामना थापा लगायतले बोल्नुभएको थियो ।