२०८१ पुष ११ , बिहिवार

चितवनमा १ लाख ७४ हजार बढी बालबालिकाले लगाए टाइफाइड रोग विरुद्धको खोप

सुनाखरी न्युज/ चितवन –

जिल्लामा सञ्चालन गरिएको टाइफाइड रोग विरुद्धको खोप एक लाख ७४ हजार १० जना बालबालिकाले लगाएका छन् । सात पालिकामा गरिएको खोप अभियानका क्रममा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइएको हो ।

 

गत चैत २५ गतेदेखि सुरु भएको खोप अभियानमा बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । अभियान वैशाख ४ गते सकिएको छ । कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा ७९ हजार २१६ र खैरहनी नगरपालिकामा १५ हजार २२८ बालबालिकाले खोप लगाएका छन् । यस्तै माडी नगरपालिकामा आठ हजार ८०४, रत्ननगर नगरपालिकामा २० हजार ५६२, राप्ती नगरपालिकामा १५ हजार ८६३, कालिका नगरपालिकामा १२ हजार ५५ र इच्छाकामना गाउँपालिकामा सात हजार २२४ बालबालिकालाई खोप लगाइएको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन् ।

 

सो अभियानमा ५४० खोप केन्द्रबाट खोप दिइएको हो । टाइफाइडको समस्या बढी मात्रामा १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई हुने भएकाले बालबालिकालाई यो खोप लगाइएको उनले जानकारी दिइन् । दूषित खानेपानी र दिसा पिसाब गरिसकेपछि साबुन पानीले हात नधोइ खाने बानी बालबालिकामा बढी हुने भएकाले यो रोगबाट बढी मात्रामा बालबालिका प्रभावित हुने गरेको उनले बताइन् ।

 

यो रोगप्रति एक लाख जनसङ्ख्यामा एक हजार ६२ जनामा सङ्क्रमण देखिने गरेको छ । १५ वर्ष मुनिका बालबालिका एक लाखमा एक हजार ९६० जनामा देखिने गरेको पाटन एकेडेमी फर हेल्थ साइन्सले गरेको एक अध्ययनले देखाएको उनले बताइन् । राम्ररी पकाएको खाना मात्रै खाने र खानेकुरा छोपेर राख्ने, बासी सडेगलेका र झिँगा भन्केको खाना नखाने, सफा र सुरक्षित पिउने पानीको मात्र प्रयोग गर्नेगरी यो रोगबाट बाँच्न सकिने उनले जानकारी दिए ।   रासस