२०८१ आश्विन १५ , मंगलबार

आचारसंहिता उल्लघन गर्दै शिक्षक पार्टी प्रवेश कार्यक्रममा संलग्न

प्रदिप न्यैपाने/ बाजुरा । निर्वाचन आयोगले निजामती कर्मचारी सहित संचार माध्यमलाई पार्टीको प्रचार नगर्न आग्रह गरेको भएपनि बाजुरामा भने निर्वाचन आचारसंहिता उल्लघन हुन थालेका छन् ।

 

जिल्लाका नेपाली काँग्रेस नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका राजनितिक दलमा आवद्ध सरकारी पेशामा लागेका निजामती कर्मचारी,शिक्षक लगायतले आचार सहिंता उल्लघन गर्ने गरेको पाइएको छ । सरकारी सेवामा संलग्न रहेका कर्मचारी,शिक्षक, सुरक्षाकर्मी लगायतका निजामतीहरुलाई कुनै पनि दलको प्रचार प्रसार र कार्यक्रममा सहभागी नहुन आयोगले सूचना जारी गरेको भएपनि आचार सहिंता उल्लघन भएको पाइएको छ । बिहीबार नेकपा एमाले गौमुल गाउँ कमिटीले नेपाली काँग्रेसका कार्यकर्तालाई एमाले पार्टीमा प्रवेश गराउने कार्यक्रममा नै दुई जना शिक्षक संलग्न भएको पाइएको छ ।

एमाले निकट शिक्षक संगठनमा आवद्ध गौमुल गाउँपालिका–२ मा रहेको हिमशिखर आधारभुत विद्यालयका प्रधानाध्यापक रामबहादुर बोहरा र सोही विद्यालयका सह शिक्षक अमरबहादुर बोहरा पार्टी प्रवेश कार्यक्रममा संलग्न भएका छन् ।आयोगले आचारसंहिता उल्लघन गरेको पाएमा कानुनी कारबाही गर्ने भनेको छ । प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले निर्वाचनको आचार संहिता उल्लघन गरेको लिखित उजुरी आएमा कानुनी कारबाही गर्ने बताएका छन् ।

 

सरकारको जुनसुकै पेशामा संलग्न रहेका व्यक्तिले निर्वाचनका बेला पार्टीको कार्यक्रममा सहभागी भएमा आचार संहिताको ठाडो उल्लघन गरेको मान्निछ ।