२०८१ आश्विन १५ , मंगलबार

रेडियो अन्नपूर्णको २१ औं बार्षिकोत्सव

सुनाखरी न्युज/ पोखरा । रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले आफ्नो २१ औं बार्षिकोत्सव मनाएको छ । वि.सं. २०५८ साल बैशाख १२ गते स्थापना भएको रेडियोले सोमबार २१ औं बार्षिकोत्सव मनाएको हो ।

 

कार्यक्रममा बोल्दै रेडियोका संस्थापक अध्यक्ष विश्वशंकर पालिखेले स्थापनाकाल देखि नै रेडियोले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्य गर्दै आइरहेको र आगामी दिनहरुमा पनि निरन्तरता दिने बताए । उनले रेडियोलाई समयअनुकुल परिस्कृत गर्दै लैजाने प्रतिवद्धता समेत व्यक्त गरे । प्रवन्ध निर्देशक सुनयना पालिखेले स्रोता शुभेच्छुकहरुको साथ र सहयोग कारण रेडियोले भिन्न पहिचान बनाउन सफल भएको बताउँदै स्रोता, शुभेच्छुक तथा कर्मचारीहरुलाई धन्यवाद व्यक्त गरिन् । निर्देशकद्धय विजेश पालिखे र बरदान ताङवे लामाले चुनौती संगसंगै अगाडी बढनुपर्नेमा जोड दिए । कार्यक्रममा स्टेसन म्यानेजर सञ्जयकुमार मल्ल, बरिष्ठ प्रस्तोता आरजु विष्ट सल्यानी र बासुदेव मिश्रले समय संगसगै रेडियोलाई परिमार्जन गर्दै लैजानुपर्ने बताए ।

 

रेडियोले उत्कृष्ट कार्य गर्ने विभिन्न कर्मचारीहरुलाई सम्मान समेत गरेको छ । वेस्ट स्टाफ अफ दि इएरबाट मार्केटिङ म्यानेजर नारायण पौडेल सम्मानित भए । उनलाई ११ हजार १ सय ११ रुपैयाँ नगदसहित सम्मानपत्रले सम्मान गरियो । रेडियोका वरिष्ठ प्रस्तोता आरजु विष्ट सल्यानी, सरिता तिमिल्सिना पंगेनी, कृष्ण देवकोटा र सरु लामिछानेलाई सम्मान पत्रले सम्मान गरिएको छ । शान्ति र विकासका लागि संचार नारासहित स्थापना भएको रेडियो अन्नपूर्ण अन्तर्गत पब्लिक एफएम ९९.६ मेगार्हज र अनलाईन अन्नपूर्ण न्यूज पोर्टल भगिनी संस्थाका रुपमा रहेका छन् ।