२०८१ मंसिर ८ , शनिवार

रोकिएको सुन आयात बुधबारबाट पुन: सुरु, ५० किलो भित्र्याउन एलसी खोल्दै बैंक

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्र बैंकले मौखिक रूपमा सुन नल्याउन बैंकहरुलाई भनेपछि रोकिएको आयात बुधबारबाट पुन: सुरु भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार राजपत्रमा सूचना जारी गर्दै १० वस्तुबाहेक अन्यको आयातलाई यथावत राखेको छ।

 

मौखिक आदेशमा आयात रोकेका बैंकहरुले सरकारले सुन नरोकेपछि बुधबारबाट पुन: ल्याउन प्रक्रिया सुरु गरेका छन्। बैंकर्स संघमार्फत कोटा लिएर बैंकहरुले बुधबार ५० किलो सुनका लागि आयात प्रतितपत्र खोल्ने भएका हुन्।

 

‘हामी अलमलमा भएका कारण फागुन अन्तिमदेखि सुन ल्याउन छाडेका थियौं। अलि अलि मौज्दात भएकाले पनि ल्याउनु परेको थिएन,’ संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले भने, ‘अस्तिको शुक्रबारबाट मौज्दात सकिएको थियो। हामी अलमलमै थियौं। सरकारले सुन ल्याउन नरोकेपछि आज (बुधबार) नै प्रतितपत्र खोल्दै छौं।’

 

उच्च आयातका कारण शोधनान्तर घाटा बढेर विदेशी मुद्राको सञ्चिति कम भएपछि राष्ट्र बैंकले सुनचाँदी आयात मौखिक रूपमा बन्द गराएको थियो। दैनिक २० किलो सुन आयातको कोटालाई १० किलोमा झारेको थियो। सरकारले बुधबार १० वटा वस्तुको आयात चालु वर्षका लागि रोकेको छ।