सुनाखरी न्युज/ काठमाडौं –
जेफ बेजोस र एलन मस्क दुवै अन्तरिक्षमा बस्ती बसाउन चाहन्छन् । नासाले मंगल ग्रहको धुलोयुक्त भूमिमा मानिस पठाउने योजनामा पनि काम गरिरहेको छ । तर यदि कसैले चन्द्रमा वा अन्य ग्रहहरूमा घर बनायो भने, उसले त्यहाँ खाने के त ?
बोट बिरुवा अन्तरिक्षमा फल्न फूल्न सक्छन् कि सक्दैनन् भन्ने बारे धेरै प्रयोगहरू भएका छन् र गत हप्ता एउटा नयाँ प्रयोग सुरु भएको छ जसमा अन्तरिक्षमा मासु उत्पादन गर्न सकिन्छ कि सकिँदैन भनेर अनुसन्धान गर्न थालिएको छ । यो प्रयोग भविष्यका अन्तरिक्ष यात्रीहरूका लागि प्रोटिनको भरपर्दो स्रोत उपलब्ध गराउने माध्यम बन्न सक्छ भन्ने प्रयोगकर्ताहरूले आशा गरेका छन् । कोशिकाबाट मासु उत्पादन गर्ने इजरायली कम्पनी एलिफ फाम्र्सले यो प्रयोगको सपना देखेको हो ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा जाने पहिलो निजी अन्तरिक्ष यात्रीको टोलीले यो प्रयोग गरिरहेको छ । यसको आलोचकहरू भन्छन् कि यो विधि यति अविश्वसनीय छ कि अन्तरिक्ष यात्रीहरू यसमा मात्रै विश्वास गर्न सक्दैनन् । उनीहरुका अनुसार अन्तरिक्षमा मासु बनाउन पृथ्वीबाट मासु लैजानु भन्दा कहिले पनि सजिलो हुने छैन ।
मासु कसरी उत्पादन हुन्छ ?
यति परिमाणमा कोसिकाहरूबाट मासु बनाउन पृथ्वीमा पनि सजिलो हुनेछैन । अलिफ फार्म कृत्रिम मासु बनाउन प्रयोग गर्ने धेरै कम्पनीहरू मध्ये एक हो । यद्यपि, यो अन्तरिक्षमा यस्तो गर्ने पहिलो कम्पनी हो । कम्पनीले ‘ल्याब ग्रोन मीट’ भन्ने वाक्यांश प्रयोग गर्दैन तर साँच्चै भन्ने हो भने यो प्रक्रिया परम्परागत फार्म जस्तो देखिँदैन । गाईको कोशिकाहरू (यद्यपि यी कोशिकाहरू कुनै पनि जनावरबाट लिन सकिन्छ) लाई बढ्नको लागि आवश्यक चीजहरू प्रदान गरिन्छ, जस्तै एमिनो एसिड र कार्बोहाइड्रेट ।
यी कोशिकाहरू मांसपेशीको तन्तु नबन्दासम्म मल्टिप्लाई हुन्छन् र अन्ततः तिनीहरू मासु बन्छन् जुन तपाईंले खान सक्नुहुन्छ । यो प्रक्रियालाई कल्टिभेसन वा प्रोलिफेरेशन भनिन्छ । यो मासु यस्तो ट्याङ्कीमा बनाइन्छ जुन तपाईंले कुनै रक्सी कारखानामा देख्न सक्नुहुन्छ । मासु बनाउने यस प्रक्रियामा जनावरको जन्म चक्र (जन्मिनु, हुर्कनु र त्यसपछि मारिने) लाई पूर्ण रूपमा नजरअन्दाज गर्ने गरिन्छ । यसका समर्थकहरू यो प्रक्रिया वातावरणको लागि लाभदायक साबित हुने दाबी गर्छन् । उदारहणका लागि मिथेनको उत्सर्जन धेरै कम हुनेछ ।
अन्तरिक्षमा किन मासु उत्पादन गर्ने ?
अलिफ फार्मको अन्तरिक्ष कार्यक्रमकी प्रमुख जाविका तामारी वैज्ञानिकलाई यो शून्य गुरुत्वाकर्षणमा पूरा गर्न सकिन्छ कि सकिँदैन भनेर थाहा नभएको बताउँछिन् । उनी भन्छिन्, ‘हामीलाई अघिल्ला प्रयोगहरूबाट थाहा छ कि जीवविज्ञान र फिजियोलोजीले सूक्ष्म गुरुत्वाकर्षण वातावरणमा धेरै फरक व्यवहार गर्छ । त्यसैले अन्तरिक्षमा मासु उत्पादन गर्ने यो प्रक्रियाले काम गर्छ वा गर्दैन भनेर हामीलाई थाहा छैन ।’
८ अप्रिलमा जब चार अन्तरिक्ष यात्रीले स्पेसएक्सको रकेटमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनका लागि उडान जनावरको कोषहरू र उनीहरूलाई बढ्नको लागि आवश्यक सबै चीजहरू भएको जुत्ताको आकारको कन्टेनर थियो । ल्यारी कोनोर, इटन स्टिब्बे, मार्क प्याथीलाई क्यानेडी स्पेस स्टेशनले लञ्च गरेको थियो, उनीहरुसँग पूर्व अन्तरिक्ष यात्री माइकल लोपेज एलेग्रिया पनि छन् । उनीहरु २४ अप्रिलमा अन्तरिक्षमा फर्कनुपर्ने थियो । त्यसपछि मात्रै यी सेलको विश्लेषण गरिनेछ ।
के अन्तरिक्षमा मासु उत्पादन गर्न लाभदायक हुन्छ ?
यो प्रयोग सफल भए पनि अन्तरिक्षमा मासु उत्पादन गर्न सकिन्छ भन्ने प्रमाणित हुँदैन । अर्थात् त्यतिबेला पनि फाइदा नहुन सक्छ । स्थानीय सुपरमार्केटहरू पनि सेलबाट निर्मित मासुले भरिएका हुने छैनन्, र त्यसका कारणहरू छन् । यस उद्योगमा करोडौं लगानी भइसकेको भए पनि यो यस्तो खाद्यपदार्थ हो कि ठूलो परिमाणमा उत्पादन गर्न सजिलो छैन । अलिफ फार्म इजरायलमा रेस्टुरेन्टहरूमा मासु सेवा प्रदान गर्नका लागि इजरायलमा अनुमतिको लागि पर्खिरहेको छ । यो यस्तो खाना हो जुन अहिलेसम्म पृथ्वीमा पनि स्थापित भएको छैन, अन्तरिक्षको कुरा त धेरै टाढाको हो ।
अन्तरिक्षमा मासु उत्पादन गर्न धेरै व्यावहारिक चुनौतीहरू छन् । यी मध्ये पहिलो बाँझोपन (स्टेरिलिटी ) हो । बर्कलेका केमिकल इन्जिनियर डेभिड हम्बर्ड भन्छन्, ‘पशु कोसिकाहरू धेरै लामो समयपछि बढ्छन् ।’ ‘यदि कोसिकाको कल्चरमा ब्याक्टेरिया वा फंगस प्रवेश भए, तिनीहरू जनावरको कोषको तुलनामा तीब्र गतिमा बढ्नेछन् र त्यसमाथि उनीहरु हावी हुनेछन् । यस्तोमा तपाईं एनिमल सेल पैदा गर्न सक्षम हुनुहुन्नँ,’ हम्बर्ड भन्छन् । यद्यपि, अलिफ फाम्र्सका अनुसार बाँझोपनको समस्या समाधान हुनेछ, विशेष गरी अन्तरिक्षमा जहाँ मासु धेरै सीमित मात्रामा उत्पादन हुनेछन् ।
तर मंगल ग्रहमा बसोबास गर्ने समुदायमा यदि केही दुषित हुन्छ भने यो भयानक हुनेछ । यो पृथ्वीमा खडेरी पर्नु जस्तै हुनेछ । अलिफ फाम्र्सले अन्तरिक्षमा खाद्यान्न पुर्याउनु निकै महँगो भएको तर्क गर्छ । यसबारेमा तथ्याङ्क फरक–फरक छ तर नासाले सन् २००८ मा गरेको अनुमान अनुसार एक पाउण्ड (आधा किलोभन्दा कम) तौललाई पृथ्वीको कक्षमा पठाउँदा १० हजार डलरभन्दा बढी खर्च लाग्छ । मंगल ग्रहमा सोही मात्रामा खाद्यान्न पठाउँदा धेरै पैसा खर्च हुनेछ । तामारी भन्छिन्, ‘मंगल ग्रह पृथ्वीबाट लाखौं किलोमिटर टाढा छ, यस्तो अवस्थामा त्यहाँ आफ्नै खाना उब्जाउनु धेरै फाइदा हुनेछ ।’
यद्यपि हम्बर्ड यस सम्भावित फाइदासँग सहमत छैनन् । उनी भन्छन्, ‘यी कोशिकाहरू, जुन आफैं खानयोग्य वस्तुबाट उत्पादन हुन्छन् । यसमा चिनी, एमिनो एसिड र पानी हुन्छ । यसरी उत्पादन हुने मासुको क्यालोरी भ्यालु त्यसमा लाग्ने खर्चभन्दा कम हुनेछ ।’ ‘सबैभन्दा राम्रो स्थितिमा तपाईं कुल क्यालोरी भ्यालुको २५ प्रतिशत मात्र प्राप्त गर्न सक्नुहुनेछ र यसलाई खान सक्नुहुनेछ । त्यसैले प्रश्न यो हो, तपाइँ किन यति धेरै क्यालोरीहरू अन्तरिक्षमा लैजानुहुन्छ र ७५ प्रतिशतलाई यत्तिकै खर्च गर्नुहुन्छ ? ’ तर लामो अवधिको अन्तरिक्ष अभियानको योजना बनाउँदा, अन्तरिक्ष यात्रीहरूको सुरक्षा जस्ता अन्य धेरै कुराहरूलाई ध्यानमा राखिन्छ ।
करेन निबर्ग एक पूर्व अन्तरिक्ष यात्री हुन् जसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पाँच महिना बितइन् । उनी अहिले अलिफ फार्मको सल्लाहकार बोर्डमा छिन् । यात्रीको शारीरिक स्वास्थ्यमा खानाको महत्वपूर्ण भूमिका रहेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘खाना सेतो झोलामा हुन्छ जसलाई हामीले दूधको धुलो र अन्य चीजहरू हाइड्रेट गर्नुपर्छ । म लसुन र जैतूनको तेलको गन्ध मिस गरिरहेकी थिएँ, किनभने हामीसँग त्यस्ता चिज हुँदैनन् । यस्तोमा कुनै पनि चिज जसले हामीलाई एक तरिकाले धर्तीमा लैजान्छ, मलाई लाग्छ कि यो राम्रो हुनेछ ।’ लामो समयसम्म पृथ्वीबाट टाढा बस्नु परेको खण्डमा अन्तरिक्ष यात्रीहरूका लागि ताजा तरकारी र अन्य खाद्य वस्तुहरू निकै महत्त्वपूर्ण हुने निबर्गको विश्वास छ ।
निस्सन्देह, यदि मानव लामो समयसम्म मंगल ग्रहमा बस्न चाहन्छ भने, अन्तरिक्ष यात्रीहरूलाई स्वस्थ र स्वादिष्ट खाना उपलब्ध गराउन महत्त्वपूर्ण हुनेछ ।मासु अन्तरिक्षमा बढ्न सक्छ भनेर प्रमाणित गर्नु एउटा कुरा हो, तर यसलाई भरपर्दो र खानाको विकल्प बनाउनु अर्को कुरा हो । अलिफ फार्म्सलाई ठूलो अपेक्षा छ । तर कम्पनीका लागि ठूलो प्रश्न यो हो कि मासु पृथ्वीमा ठूलो मात्रामा उत्पादन गर्न सकिन्छ कि सकिँदैन । बीबीसी