२०८१ पुष २६ , शुक्रवार

नेपालीको प्रतिव्यक्ति आम्दानी वृद्धि,आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने

सुनाखरी न्युज/ काठमाडौं । चालु आर्थिक वर्षमा नेपालीको वार्षिक प्रतिव्यक्ति आम्दानी बढेर १३७२ अमेरिकन डलर पुगेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको अर्थतन्त्र विवरणमा प्रतिव्यक्ति आय बढेको देखिएको हाे।

 

गत आर्थिक वर्षमा नेपालीहरुको प्रतिव्यक्ति आम्दानी ११९१ डलर रहेको थियो। सो अवधिको तुलनामा नेपालीको आम्दानी १८१ अमेरिकी डलर बढेर १३७२ डलर अर्थात एक लाख ६४ हजार ५९८ रुपैयाँ पुगेको विभागको लेखा तथ्यांकमा उल्लेख छ । यस अवधिमा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) आधारभूत मूल्यमा ४१ खर्ब ५ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। यो गत आर्थिक वर्षको तुलनामा जीडीपीको आकार ३ खर्ब ७२ अर्ब २७ करोड रुपैयाँले बढेको हो। गत आर्थिक वर्ष ३७ खर्ब ३३ अर्ब २७ करोड रुपैयाँ रहेको थियो।

 

त्यसैगरी, विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने भएको छ । कुल उत्पादन आधारभूत मूल्यमा ७३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रहेको छ भने मध्यवर्ती उपभोग उपभोक्ताको मूल्यमा ३२ खर्ब ५१ अर्ब ६ करोड रुपैयाँ रहेको छ। चालु मूल्य अनुसार कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा ४८ खर्ब ५१ अर्ब ६३ करोड र चालु मूल्यमा कुल स्थिर पुँजी निमार्ण १४ खर्ब २५ अर्ब ८ करोड रहेको छ।

 

चालु मूल्यमा वस्तु तथा सेवा निर्यात ६.६१ प्रतिशतले बढेर ३ खर्ब २० अर्ब ७१ करोड पुगेको छ भने वस्तु सेवा आयात ४१.४९ प्रतिशतले बढेर १८ खर्ब २० अर्ब ८२ करोड पुयेको देखिन्छ। चालु मूल्यमा कुल राष्ट्रिय वचत कुल गार्हस्थ्य उत्पादनको ३१.९५ प्रतिशत रहदा विप्रेषण ९ खर्ब ६१ अर्ब ७ करोड रुपैयाँ रहेको पाइन्छ।