२०८१ आश्विन १३ , आइतवार

नर्भिकमा शनिवार दुई टिमले निःशुल्क ओपिडी सेवा प्रदान गर्ने

सुनाखरी न्युज/ काठमाडौं । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत शनिवार दुई वटा युरोलोजी टिमले सेवा प्रदान गर्ने भएको छ । अस्पतालले आउँदो शनिवार(वैशाख १७ गते) दुई यूरोलोजी टिम परिचालनमार्फत निःशुल्क ओपिडी सेवा सञ्चालन गर्न लागेको हो ।

 

अस्पतालका अनुसार, शनिवार बिहान ९ बजेदेखि १०ः३० बजेसम्म एउटा टिम र बिहान ८ बजेदेखि १० बजेसम्म अर्को टिमले सेवा प्रदान गर्नेछ । नर्भिकले चैत महिनाभरि पनि यूरोलोजी टिमकै विशेष निःशुल्क ओपिडी अभियान सञ्चालन गरेको थियो । सर्वसाधारणबाट माग आएपछि पुनः आउने शनिवार पनि यूरोलोजीकै निःशुल्क ओपिडी सेवा संचालन गर्ने निर्णय गरिएको अस्पतालले जनाएको छ ।

 

यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त बिष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले प्रोस्टेट ग्रन्थी सम्बन्धी सबै खालका समस्या भएका बिरामीहरुलाई लक्षित गरी निःशुल्क ओपिडी तथा परामर्श सेवा संचालन गर्नेछ । यो टिमले विहान ८ बजेदेखि १० बजेसम्म सेवा दिनेछ । मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरुका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया समेत यो टिमले गर्नेछ । शल्यक्रिया शुल्कमा विशेष सहुलियतको अफर समेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ ।

 

यसैगरी, ९ बजेदेखि १०ः३० बजेसम्म यूरोलोजी विशेषज्ञद्वय प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टिमले पनि निःशुल्क ओपिडी सेवा दिनेछ । मृगौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरुले यो ओपिडीबाट लाभ लिन सक्नेछन् । निःशुल्क ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरुलाई शल्यक्रिया शुल्कमा विशेष छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

 

नर्भिकमा हाल सानो प्वाल बनाई मृगौलाको पत्थरी निकाल्ने प्रविधि, घाउ नबनाई मृगौलाको पत्थरीको उपचार गर्ने तथा घाउ नबनाई मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने प्रविधि समेत उपलब्ध छ । यस्तै, दूरविनको माध्यमबाट घाउ बनाईकन प्रोस्टेट र मूत्रथैलीमा पलाएको ट्यूमरको समेत नर्भिकमा उपचार हुने गरेको छ । निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरमार्फत आफ्नो नाम टिपाउन सक्नेछन् ।

 

यसबाहेक नर्भिकले निःशुल्क ओपिडीको साथमा आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा विभिन्न हेल्थ प्याकेजमा आकर्षक छुटको अफर पनि यसअघि नै सार्वजनिक गरिसकेको छ । यस्तै क्यान्सर स्क्रिनिङका विभिन्न ४ प्याकेजमा भारि छुटको अफर समेत चलिरहेको छ ।