२०८१ आश्विन १५ , मंगलबार

अपांगता भएकाहरुलाई भोट बैंकका रुपमा मात्र प्रयोग नगरौं

नारायण क्षेत्री/ पोखरा ।अपांगता भएका व्यक्तिहरुलाई भोट बैंकका रुपमा मात्र प्रयोग गर्न नहुनेमा सरोकारवालाहरुले जोड दिएका छन् । बैशाख ३० गते हुने आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा अपांगता स्वाबलम्बन संघ (डिडा) नेपालको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी र आइएनएफ पोखराको सहकार्यमा पोखरामा भएको अपांंगता भएका व्यक्तिहरुको राजनैतिक सहभागिता र पहुँचयुक्त निर्वाचन प्रणाली विषयक अन्तक्र्रियामा बोल्दै उनिहरुले यस्तो बताएका हुन् ।

 

अपांगता भएका व्यक्तिहरुको अधिकार, निर्वाचन आयोगको भूमिका र कानुनी प्रावधानका विषयमा कार्यपत्र प्रस्तुत गर्दै अपांगता स्वाबलम्बन विकास संघ (डिडा) नेपालका पूर्व अध्यक्ष हेमबहादुर गुरुङले अपांगता भएका व्यक्तिहरुलाई राजनीतिक दलहरुले भोट बैंकको रुपमा मात्र प्रयोग गर्दै आइरहेको गुनासो गरे । उनले अपांगता भएका व्यक्तिहरुलाईपनि अन्य व्यक्ति सरह मतदान गर्ने सहज वातावरण सिर्जना गर्न माग गरे ।

 

कार्यक्रममा बोल्दै निर्वाचन आयोग गण्डकीका प्रमुख होमनाथ पराजुलीले अपांगता भएका व्यक्तिहरुको हक अधिकारप्रति आयोग सचेत रहेको बताए । उनले निर्वाचनका समयमा अपांगता भएका व्यक्तिहरुलाई गाडीको व्यवस्था गर्नुका साथै भोट हाल्दा लाइनमा बस्नु नपर्ने बताए । आर्थिक र प्राविधिक कठिनाइका कारण विद्युतीय मेसिनको प्रयोग गर्न नसकिएको उनले उल्लेख गरे । पराजुलीले निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन सबैको भूमिका महत्वपूर्ण हुने बताए ।

पोखरा महानगरपालिकाका गठबन्धनका उम्मेदवार धनराज आचार्यले अवसर पाए अपांगता भएका व्यक्तिलेपनि साङ्गले भन्दा उत्कृष्ट कार्य गर्दै आइरहेको उल्लेख गर्दै उनिहरुलाई अवसर दिनुपर्ने बताए । निर्वाचन नागरिकको नैसर्गिक अधिकार भएकाले कुनैपनि नागरिक आफ्नो अधिकारबाट बञ्चित हुन नहुनेमा उनको जोड थियो ।

 

नेकपा एमाले कास्कीका नेता तेजनारायण अधिकारीले आफ्नो पार्टी सदैव साथमा रहेको बताए । अपांगता भएका व्यक्तिहरुलाई मतदान गर्न जाँदा कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा आफूहरुले आयोगसंग परामर्श गरिरहेकको अधिकारीले उल्लेख गरे । राष्ट्रिय अपांगता महासंघ गण्डकीका उपाध्यक्ष अञ्जना केसीले घोषणापत्रमा दलहरुले ठूलाठूला कुरा गरेपनि पार्टी कार्यालयहरु अपांगमैत्री हुन नसकेको गुनासो गरिन् । उनले हरेक वडामा अपांगहरुका लागि गाडीको व्यवस्था गर्न आयोगलाई आग्रह गरिन् । राजनीतिक दलहरुले अपांगता भएका व्यक्तिहरुलाई टिकट समेत नदिएको भन्दै यसतर्फपनि ध्यान दिनुपर्नेमा जोड दिइन् ।

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीका संयोजक शिव खकुरेलले दलहरुले मनोनयन दर्ता गर्दा अपांगता भएका व्यक्तिहरुलाई नसमेटिएको बताउँदै हरेक राजनीतिक दलहरुले त्यसलाई गम्भिरतापूर्वक लिनुपर्नेमा जोड दिए । भोट दिनेमात्र नभइ भोट पाउनुपर्ने स्थानमा पनि उनिहरुको प्रतिनिधित्व हुनुपर्ने र टिकट नदिएमा अपांगता भएका व्यक्तिहरुले स्वतन्त्र उम्मेदवारी दिएर भएपनि उनिहरुलाई चुनौती दिनुपर्ने बताए ।

 

अपांगता स्वाबलम्बन विकास संघ (डिडा) नेपालका संस्थापक अध्यक्ष गिरीधारी सुवेदीले अपांग व्यक्तिले आफू अनुकुल व्यक्तिको सहयोगमा मतदान गर्ने वातावरणको सिर्जना हुनुपर्ने र मतदानस्थल सहज ठाउँमा हुनुपर्ने माग गरे । डिडा नेपालका अध्यक्ष दीपक तिमिल्सिनाले निर्वाचनमा ह्विल चियर, दृष्टिविहिन लगायत अन्य अपांगता भएका व्यक्तिहरुलाई मतदानस्थल सम्म जाने र मतदान गर्ने वातावरणको सिर्जना गर्नुपर्ने बताए ।

 

कार्यक्रममा आइएनएफ नेपाल हरियोखर्कका प्रमुख विष्णुु गिरी, नागरिक समाज कास्कीका पूर्व अध्यक्ष विष्णु बराल, जनता समाजवादी पार्टी (जसपा) कास्कीका नेता गिरीराज गुरुङ, गैर सरकारी संस्था महासंघ गण्डकीका कार्यवाहक अध्यक्ष पदम पहरी, राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत मोहन काफ्ले, गैसस महासंघ कास्कीका अध्यक्ष डा.बुद्धिबहादुर थापा, नेपाली कांग्रेस कास्कीका सहसचिव नवीन सिग्देल, महिला मानवअधिकार रक्षक सञ्जाल गण्डकीका अध्यक्ष इन्द्रकुमारी शर्मा, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल गण्डकीका संयोजक इन्दिरा पौडेल, राप्रपा कास्कीका नेता खिमबहादुर भण्डारी, सूर्य बास्तोला लगायतले मताधिकार व्यक्तिको नैसर्गिक अधिकार भएकाले कुनैपनि व्यक्ति मतदान गर्नबाट बञ्चित हुन नहुनेमा जोड दिए ।