२०८१ आश्विन १५ , मंगलबार

एमाले पोखरा महानगरका मेयर उपमेयरद्धारा चुनावी प्रतिवद्धता पत्र सार्वजनिक

नारायण क्षेत्री/ पोखरा । नेकपा एमाले पोखरा महानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । एमाले बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लगायतका नेताहरुको उपस्थितिमा शनिबार पोखरामा आयोजित उम्मेदवार परिचय तथा बृहत कार्यकर्ता भेलामा मेयरका प्रत्यासी कृष्ण थापा र उपमेयरका प्रत्यासी मञ्जुदेवी गुरुङले प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।

 

कार्यक्रममा बोल्दै मेयरका उम्मेदवार कृष्ण थापाले पोखरालाई अन्तर्राष्ट्रिय सहरको रुपमा विकास गर्ने बताए । थापाले आफूले २० देखि २५ हजारको मतान्तरले चुनाव जित्ने दाबी गर्दै विजयी भए पश्चात प्राप्त हुने सबै सेवा सुविधा नागरिकका लागि खर्च गर्ने प्रतिबद्धता जनाए । उनले अब चुनाव नलडने बताउँदै यो नै आफ्नो अन्तिम चुनाव भएको उल्लेख गरे ।

 

उपमेयरका उम्मेदबार मञ्जुदेवी गुरुङले ५ बर्ष सम्म नागरिकप्रति कटिबद्ध रहेर आफूले गरेको कार्य सम्पादनको मुल्यांकन गरी पार्टीले पुनः जिम्मेबारी दिएकाले बाँकी रहेका कामहरुलाई पूरा गर्ने बताइन् । ५ बर्षको अवधिमा महानगरमा शिक्षा, स्वास्थ र सामाजिक क्षेत्रमा उल्लेखनीय काम भएको पनि उनले सुनाइन् । पार्टीको घोषणापत्रलाई अक्षरस पालना गर्ने समेत गुरुङले प्रतिवद्धता व्यक्त गरिन् ।

 

प्रतिवद्धता पत्रमा महानगरमा पर्ने मध्य पहाडी लोकमार्गको खण्डलाई छिटो निर्माण गर्न केरुङ–काठमाडौं हुँदै पोखराबाट लुम्बिनीसम्म रेलमार्ग सञ्चालन र भैंसालोटन नाका हुँदै अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन गर्न प्रदेश र संघिय सरकारसंग सहकार्य गर्ने, महानगरभित्र सार्वजनिक यातायातलाई व्यवस्थित गर्न मोनोरेल तथा मेट्रोरेल सञ्चालनको लागि सम्भाव्यता अध्ययन गरिने लगायतका योजना समेटिएको छ । महानगरमा अन्तर्राष्ट्रिय स्तरको सभाहल निर्माण, रंगशालाको स्तरोन्नति गरी ३ बर्षभित्रमा पोखरालाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको गोष्ठी, सभा सम्मेलन सञ्चालन गर्ने उपयुक्त केन्द्रका रुपमा विकास गरिने, महानगरका भू उपयोग नीति तयार गरी कम उर्बर र जोखिम कम भएका स्थानहरुमा सहरी पूर्वाधारयुक्त नमूना बस्ती विकास कार्यक्रम लागु गरिने प्रतिवद्धता पत्रमा समेटिएको छ ।

 

प्रत्येक वडाका केन्द्रहरुलाई टोल र गाउँहरुसँग जोडने वातावरणमैत्री हरित सडकहरुको विस्तार गर्ने, महानगरभित्रका सेती नदी, विजयपुर खोला, हर्पन, मर्दी, सुरौंदी लगायतका खोलाहरुमा स्थानीय जनसहभागितामा आधारित साना जलविद्युत आयोजना सञ्चालन गर्न प्रेरित गर्ने, महानगरको पार्किङलाई व्यवस्थित गर्दै निःशुल्क पार्किङको व्यवस्थालाई समेत प्राथमिकतामा राखिएको छ । महानगरभित्र सबै जातजातिको भाषा, संस्कृति झल्किने गरी बहुसांस्कृतिक ग्रामको निर्माण, महानगरभित्र सञ्चालित एवं सञ्चालन हुने एफएम, रेडियो तथा टेलिभिजनको प्रशारण सञ्चालन, दर्ता, नविकरण आदिमा सुलभ व्यवस्था, फोहर व्यवस्थापनका लागि महानगरका प्रत्येक घरघरमा फोहरमैला संकलन तथा व्यवस्थापन गर्ने र ट्रान्सफर सेन्टरसम्म पु¥याउने व्यवस्था जस्ता विषयहरुपनि प्रतिबद्धता पत्रमा समावेश गरिएको छ ।

कार्यक्रममा बोल्दै एमाले बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले देशमा राजनीतिक स्थायित्वका लागि एमालेले चुनाव जित्नैपर्ने बताए । गठबन्धनसंग कुनै विचार र सिद्धान्त नभएको उल्लेख गर्दै नेता पोखरेलले पुष्पकमल दाहाललाई कांग्रेसमा प्रवेश गर्न वा राजनीतिबाट सन्यास मध्ये एक रोज्न चुनौती दिए । उनले पार्टीले सार्वजनिक गरेको प्रतिवद्धता पत्र व्यवहारमा कार्यान्वयन गरेर देखाउने दावी समेत गरे ।

 

उपमहासचिव पृथ्वीसुब्बा गुरुङले गठबन्धन अहिलेको लडाईँ सत्ता गठबन्धनको विरुद्धमा रहेको उल्लेख गर्दै गठबन्धनको सरकार बनेपछि देशमा वेथिति मैलाउँदै गएको आरोप लगाए । उनले पोखरा महानगरका ३३ वटै वडामा एमालेले झण्डा फहराउने समेत दावी गरे । सो अवसरमा महानगरका ३३ वटै वडाका जनप्रतिनिधिहरुको परिचय गराइएको थियो । गठबन्धनको तर्फबाट एकिकृत समाजवादीका मेयरका उम्मेदवार धनराज आचार्य र उपमेयरका उम्मेदवार नेपाली कांग्रेसकी कोपिला रानाभाटले आफ्नो चुनावी घोषणापत्र यसअघि नै सार्वजनिक गरिसकेका छन् ।