२०८१ मंसिर ८ , शनिवार

नेपाल निर्वाचनः ८ बजेअघि र ७ बजेपछि चुनावी प्रचार गर्न नपाइने, आचारसंहिता उल्लङ्घनमा उम्मेदवारी रद्दसम्म सजाय

सुनाखरी न्युज/ काठमाडौं –

वैशाख ३० गते देशैभरि एकै चरणमा हुन लागेको स्थानीय तह निर्वाचनमा विभिन्न पदका लागि मनोनयन गरेका डेढ लाख उम्मेदवारहरू चुनावी प्रचारप्रसारमा जुटेका छन्। वैशाख ११ र १२ गते उम्मेदवारि दर्ता गराएका करिब आठ हजार उम्मेदवारले मनोनयन फिर्ता लिएपछि बाँकी रहेका उम्मेदवारहरूले चुनावी अभियान तीव्र बनाइरहँदा आचारसंहिता पालनामा आयोगले सचेत गराएको छ।

 

चुनावी मैदानमा रहेका उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको गम्भीर उल्लङ्घन गरे उनीहरूको मनोनयन नै रद्द गर्न सक्ने अधिकार आयोगलाई छ। “आचार संहिता उल्लङ्घन गरेको कारणले एक लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने र उम्मेदवारी खारेज हुनेसम्मको व्यवस्था कानुनमा छ,” आयोगका कानुनी सल्लाहकार गुरुप्रसाद वाग्लेले भने।

आचार संहितामा के छ
निर्वाचन आचारसंहिताले बिहान ८ बजे अघि र साँझ ७ बजेपछि प्रचारप्रसारका गतिविधि गर्न रोक लगाएको छ। “जुलुस, आमसभा, कोणसभा, बैठक भेला वा प्रचारप्रसारका कार्यक्रम गर्दा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्ने,” स्थानीय तह निर्वाचनका लागि हालै संशोधित निर्वाचन आचारसंहिता २०७८ मा भनिएको छ। आचारसंहिताले निर्वाचन प्रचारप्रसारका गतिविधिमा १८ वर्ष मुनिका बालबालिकाको प्रयोगलाई पनि निषेधित गरेको छ।

 

आयोगले निर्वाचनमा मोटरसाइकल र्‍यालीको आयोजना गर्ने र अनलाइन, टेलिभिजन तथा सपिङ मलहरूमा उम्मेदवारका विज्ञापन राख्ने जस्ता भड्किला प्रचार प्रसारमा समेत बन्देज लगाएको छ। निर्वाचन आचारसंहिता अनुसार निर्वाचन प्रचारप्रसारका लागि आमसभा वा भेला गर्न स्थानीय प्रशासनको अनुमति लिनुपर्ने व्यवस्था छ। कुनै पनि दल वा उम्मेदवारले अर्को दलको भेला वा आमसभा बिथोल्न वा वाधा पुर्‍याउन र प्रतिस्पर्धी दलका विरुद्ध प्रचार गर्न नपाउने व्यवस्था निर्वाचन आचारसंहिताले गरेको छ।

 

अनुमति नलिई निजी घर वा जग्गामा प्रचार सामग्री राख्न नपाइने

आचारसंहिताले धर्मको नाममा प्रचारप्रसार गर्न र ज्येष्ठ नागरिक, महिला तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूको भावना वा प्रतिष्ठामा आँच आउन सक्ने प्रचारप्रसार गर्न उम्मेदवारहरूलाई रोक लगाएको छ। घर वा जग्गाधनीको अनुमति नलिई निजी घर वा जग्गा तथा सार्वजनिक उद्यान र सडकका पोललगायत सार्वजनिक स्थानमा दलको झन्डा वा उम्मेदवारको चिन्ह राख्न र टाँस्न आचारसंहिताले बन्देज गरेको छ।उम्मेदवारहरूले कुनै समूह वा क्लबलाई आर्थिक सहयोग गर्न र जिन्सी उपहार दिन पनि रोक लगाइएको छ।

 

उम्मेदवार र उम्मेदवारको परिवारलाई डर देखाउने र धम्की दिने जस्ता गतिविधिबाट आचारसंहिताको उल्लङ्घन हुने आयोगले जनाएको छ। निर्वाचन प्रचारप्रसार गर्दा कसैको घर आसपासमा गएर परिवारका सदस्यको विरोध गर्न नहुने पनि आचारसंहिता छ। आचारसंहिता अनुसार उम्मेदवारहरूले बढीमा दुई वटा सवारीसाधन वा चार वटा घोडा मात्र निर्वाचनको प्रचारप्रसारमा प्रयोग गर्न पाउँछन्। तर निर्वाचन अधिकृतको कार्यालयबाट अनुमति लिएर प्रयोग गरिने त्यस्ता सवारीसाधन मतदाता ओसारपसारमा प्रयोग गर्न रोक लगाइएको छ। नेपालको भारतसँग सीमावर्ती क्षेत्रमा निर्वाचन प्रचारप्रसारका लागि भारतीय सवारीसाधनको प्रयोग हुने गरे पनि निर्वाचन आचारसंहिताले विदेशी नम्बर प्लेटको गाडी प्रचार प्रसारमा प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ।

 

स्थानीय तहका उम्मेदवारहरूले टेलिभिजन वा रेडिओ माध्यममा एक मिनेटभन्दा छोटो प्रचार सामग्री एक दिनमा दुई पटकसम्म मात्रै प्रसारण गर्न पाउँछन्। तर निर्वाचनको मौन अवधि सुरु भएपछि उम्मेदवार र राजनीतिक दलहरूले प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न नपाउने आचारसंहिताको व्यवस्था छ। मतदानको समयभन्दा ४८ घण्टा अघिबाट मौन अवधि सुरु हुने व्यवस्था छ। उम्मेदवारहरूले मतदानको दिन निर्वाचन चिन्ह भएका पहिरन वा ब्याच लगाएर उपस्थित भएको अवस्थामा पनि आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनमा कारबाही गर्न सक्छ।

 

उम्मेदवारी रद्द सम्मको कारबाही
निर्वाचन आयोग ऐन २०७३ले आचारसंहिताको गम्भीर उल्लङ्घन गर्ने उम्मेदवारको उम्मेदवारी समेत रद्द हुन सक्ने व्यवस्था गरेको छ। “कुनै उम्मेदवारले आयोगले बनाएको आचारसंहिताको उल्लङ्घन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यसको स्पष्ट आधार र कारण खोली आयोगले उम्मेदवारको उम्मेदवारी रद्द गर्न सक्नेछ,” ऐनमा भनिएको छ। उम्मेदवारी रद्द गर्ने निर्णय गर्नुअघि आयोगले आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवारलाई सफाइको मौका दिनुपर्ने कानुनी व्यवस्था छ।”

 

आयोगले आचारसंहिता उल्लङ्घन गर्ने सबैको उम्मेदवारी रद्द गर्दैन। आचारसंहिता उल्लङ्घनको हद हेरेर सचेत गराउने वा जरिवाना गर्ने जस्ता कारबाही पनि गर्न सक्छ,” आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने। ऐनमा अनुगमनका क्रममा आचार संहिता उल्लङ्घन भएको देखिए त्यस्तो गतिविधि रोक्न आयोगले दल, संस्था वा उम्मेदवारलाई आदेश दिन सक्ने व्यवस्था छ।आयोगले दिएको आदेश अटेर गर्ने दल, संस्था वा उम्मेदवारलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ।

 

दर्जन बढी उजुरी
निर्वाचन आयोगका अनुसार शनिवारसम्म उम्मेदवार र राजनीतिक दलहरूले आचारसंहिता उल्लङ्घन गरेको विषयमा दर्जन बढी उम्मेदवारी परेका छन्। “आचारसंहिता उल्लङ्घनको विषयमा अहिलेसम्म विभिन्न दल र उम्मेदवारहरू विरुद्ध १४- १५ वटा उजुरी परेका छन्। “आयोगले त्यसबारे उहाँहरूसँग मागेको स्पष्टीकरणको जवाफ पनि दिइसक्नुभएको छ,” प्रवक्ता पौडेलले भने। स्पष्टीकरणको जवाफ अध्ययन गरेर आयोगले थप निर्णय लिने प्रवक्ता पौडेलले जानकारी दिए।

 

आयोगका अनुसार अधिकांश उजुरी आचारसंहिता उल्लङ्घन हुने गरी झन्डाको प्रयोग गरेको, जुलुस गरेको, तोकिएको भन्दा बढी निर्वाचन खर्च गरेको तथा निर्वाचन प्रचारप्रसारका सामग्रीमा लोगो राखेको र प्रचारप्रसारमा सरकारी कर्मचारीहरू प्रयोग भएका जस्ता उजुरी छन्। निर्वाचन आचारसंहिता उल्लङ्घनमा आयोगले नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपा लगायतका दलसहित कांग्रेस नेता शशांक कोइराला र गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई सचेत गराएको छ।  बिसीबाट साभार गरिएको